काठमाडौं।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डम्मर बहादुर बुढाथोकीविरुद्ध भ्रष्टाचारको मुद्दामा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। बाँके जिल्ला, कोहलपुर नगरपालिकाका बासिन्दा बुढाथोकीमाथि सरकारी साक्षी भएर अदालतमा बयान दिने क्रममा प्रतिकूल रूपमा बकपत्र गरेको र पूर्व नियोजित रूपमा नगद घुस प्रदान गरेको आरोप लागेको छ।
मुद्दा नं. ०८१-CR-०१२६ अन्तर्गत खरिदार रतन बहादुर जि.सी.सहित अन्य कर्मचारीहरूमाथि घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दामा बुढाथोकीलाई सरकारी साक्षीका रूपमा अदालतमा पेश गरिएको थियो। तर, विशेष अदालतमा गत असार २६ गते बयान दिने क्रममा उनले अनुसन्धान अधिकृतसमक्ष दिएको बयानविपरीत प्रतिकूल बकपत्र दिएका थिए।
अनुसन्धानका क्रममा पत्ता लागेको तथ्यअनुसार, डम्मर बहादुर बुढाथोकीले जमिनको मोठ भिडाउने काम सहजीकरण गरिदिने प्रयोजनले प्रतिवादीहरू – बिचौलिया शान्ति पुन, खरिदार रतन बहादुर जि.सी., हरिचन्द्र पाण्डे र घनश्याम तिवारीलाई मिलेमतोमा २०,००० नगद घुस दिएका थिए।
उक्त कार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गत कसूर पुष्टि भएको भन्दै बुढाथोकीविरुद्ध बीस हजार रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना तथा घुस रकम जफतको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।
प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएअनुसार, भ्रष्टाचार निवारण ऐनअनुसार बुढाथोकीलाई कानूनी दायरामा ल्याउन आवश्यक सबै प्रक्रिया अघि बढाइएको छ।











प्रतिक्रिया