काठमाडौं ।
ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। घरेलु विवादका क्रममा श्रीमानले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ थानकोट घर भई हाल ठैबमा बस्दै आएका ४६ वर्षीय निरोजकुमार खड्गीले आफ्नी पत्नी ४६ वर्षीया सुस्मिता खड्गीको हत्या गरेका हुन्। प्रहरीले दिएको जानकारी अनुसार, सुस्मिताको शव आज आइतबार बिहान उनीहरू बस्दै आएको टहरोमा फेला परेको हो।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार, हत्या घरेलु विवादकै कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ भने आरोपी निरोजकुमार खड्गीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
शवलाई पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको छ। घटना पश्चात स्थानीयवासी र सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए।
प्रहरीले थप अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गर्ने बताएको छ।











प्रतिक्रिया