उदयपुर ।
उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा आइतबार बिहानदेखि त्रियुगा नदीमा बाढी आएकोले जल सतह सतर्कता तह पार गरेको छ ।
रातभर परेको अविरल बर्षाको कारण त्रियुगा नदीको जलसतह बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेले सावधानी अपनाउन समेत विभागले आग्रह गरेको छ ।
राती २ बजे मौसम विज्ञान विभागले आकस्मिक सूचना जारी गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारीप्रेम प्रसाद लुईटेलले जानकारी दिनु भयो । प्रजिअ लुईटेलका अनुसार त्रियुगा नगरपालिका १२ पोर्ताहा नजिक त्रियुगा नदी किनारामा सदा समुदायको वस्तीमा त्रियुगाको पानी पसेको जानकारी दिनु भयो ।
पोर्ताहमा एक घरमा पानी पसेको जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मी र स्थानीयले सुरक्षित स्थानमा स्थानन्तरण गरि सकिएको प्रजिअ लुईटेलले बताउनु भयो ।
त्रियुगा तटीय क्षेत्रमा सतर्कता अपनाऔं
साउन १८ बिहान ०२ः०० बजे उदयपुर जिल्ला स्थित त्रियुगा खोला गाइघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले बिहान सम्म सतर्कता अपनाऔ।











प्रतिक्रिया