प्रधानमन्त्री ओली तेस्रो एलएलडिसी सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान जाँदै


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तानको अवाजा शहरतर्फ प्रस्थान गर्दै छन्। उनी भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन्।

साउन २० देखि २३ गतेसम्म हुने सम्मेलनमा ओलीले समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्बोधन गर्ने र एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्ने कार्यक्रम छ। साथै, विभिन्न देशका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता र अन्तर्राष्ट्रिय संस्थासँग छलफल समेत हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

ओली साउन २३ गते स्वदेश फर्किने छन्। सम्मेलनमा सहभागी मुलुकहरू समुद्रबाट टाढा रहेका तथा पूर्वाधार अभावका कारण विकासमा चुनौती भोगिरहेका छन्।