चुरे संरक्षण नगरे तराई–मधेश मरुभूमि बन्छ : अध्यक्ष नेपाल


सर्लाही। 

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुरे संरक्षण र चुरे क्षेत्रमा जलभण्डारण नगरे तराई–मधेश मरुभूमि हुने बताए ।

सर्लाहीको लालबन्दी नगरपालिका–१५ स्थित परवानीपुरको बोहोरेडाँडामा निर्माण गरिएको नवनिर्मित पुष्पलाल स्मृति भवनको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण भविष्यमा उत्पन्न हुनसक्ने दीर्घकालीन समस्याबाट जोगिन  समयमै वर्षाको पानीलाई चुरे तथा भावर क्षेत्रमा जलभण्डार गरेर राख्न सरकारको ध्यानाकर्षण गराए।

उनले भने,-`वर्षाको पानीको उचित व्यवस्थापन गर्न सकियो भने तराई–मधेशमा खानेपानी र सिँचाइको समस्या हुँदैन।`अध्यक्ष नेपालले सरकारलाई तुरुन्तै मधेशका नागरिकको जीवन र सिँचाइको प्रवन्ध मिलाउने काममा लाग्न  समेत आग्रह गरे। `अहिलेकै जस्तो खडेरी फेरि पनि आउन सक्छ,त्यसका लागि सुनकोसी–मरिण, सुनकोसी–कमला र सप्तकोसीजस्ता ठूला सिँचाइ आयोजना लाई तुरुन्तै कार्यान्वयनमा ल्याएर  किसानको खेतसम्म सिँचाइ सुविधा पुर्‍याउनुपर्छ ।´

चुरे दोहन बढ्दै गएको र समयमा समाधान गर्न नसके तराई–मधेशमा अन्न उत्पादन घटेर भोकमरीको अवस्था सिर्जना हुने पनि उनले चेतावनी दिए। आफू प्रधानमन्त्री हुँदा ल्याइएका दीर्घकालीन योजनाहरू वर्तमान सरकारले कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै ती योजनाहरू तत्काल लागू गर्न सरकारसँग आग्रह गरे । सप्तकोसीको पानी नेपालले हाल १५ प्रतिशत मात्र प्रयोग गरिरहेको उल्लेख गर्दै त्यसलाई विस्तार गरी कम्तीमा ५० प्रतिशत प्रयोग गर्न सके मधेसका सबै जिल्लामा सहजै सिँचाइ पुर्‍याउन  सकिने दाबी गरे।  

नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा नेकपा (एस) का नेता रामचन्द्र झा, रामकुमार भट्टराई, प्रदेश सांसद बेची लुङगेली, जिल्ला पार्टी अध्यक्ष सुरेन्द्र लामा लगायतको उपस्थिति रहेको थियो।