काठमाडौं।
पछिल्लो समय नेपालमा कोरोना भाइरस र डेंगी संक्रमण एकसाथ फैलिरहेको छ । जसले देशको सार्वजनिक स्वास्थ्य प्रणालीमा थप दबाब सिर्जना गरिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांक अनुसार, पछिल्ला साताहरुमा दैनिक औसतमा सात जना कोरोना र बीसभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भइरहेको छ । संक्रमणको यो बढ्दो ग्राफले स्वास्थ्य पूर्व तयारीमा गम्भीर प्रश्न उठाइरहेको छ ।
ईडीसीडीको विवरण अनुसार, जनवरीदेखि जुलाई ३१ सम्मको अवधिमा ४१६ जना कोरोनाबाट सङ्क्रमित भएका छन्, जसमा पछिल्लो साता मात्रै २१ जना नयाँ सङ्क्रमित थपिएका छन्। । हालसम्म ४९ जिल्लामा फैलिएको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । यद्यपि कोरोना संक्रमणको संख्यामा पहिलेको तुलनामा कमी देखिए पनि यसको जोखिम पूर्णरूपमा टरेको भन्न सकिने अवस्था छैन ।
कोरोनाको तुलनामा डेंगी संक्रमणको अवस्था झनै गम्भीर देखिएको छ । सोही अवधिमा दुई हजार ४५१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ भने पछिल्लो साता मात्रै १५७ जना सङ्क्रमित भएका छन्। । डेंगी हाल ७४ जिल्लामा फैलिएको छ । मनाङ, डोल्पा र हुम्लाबाहेक प्रायः सबै जिल्लामा संक्रमण देखिएको तथ्यले डेंगीको पहुँच कति फराकिलो छ भन्ने प्रस्ट पार्छ ।
काठमाडौं उपत्यकामा सबैभन्दा बढी २४१ जना सङ्क्रमित भेटिएका छन्। । त्यसपछि कास्की, पाल्पा, तनहुँ र सुनसरीमा पनि संक्रमितको संख्या एक सय नाघिसकेको छ । यो स्थिति संक्रमण शहरी क्षेत्र मात्र नभई ग्रामीण भेगमा समेत फैलिरहेको संकेत हो ।
ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा.गोकर्ण दाहालका अनुसार, हामीले देखिरहेका संक्रमितको संख्या केवल रिपोर्टिङमा आएका केस हुन्। । वास्तविक संख्या समुदायस्तरमा यसको दसौं गुणा बढी हुनसक्छ । यो चेतावनी संक्रमण नियन्त्रणको प्रयास कति कमजोर रहेको छ भन्ने कुरालाई उजागर गर्छ ।
ईडीसीडीले सन् २०२५ को अन्त्यसम्म करिब ६० हजार नागरिकमा डेंगी संक्रमण देखिने प्रक्षेपण गरेको छ । यस्तो अनुमान आफैँमा गम्भीर सन्देश हो । यति ठूलो संख्यामा संक्रमण फैलिने जोखिम हुँदा पनि स्थानीय तथा संघीय सरकारको पूर्वतयारी र प्रतिक्रिया सुस्त देखिन्छ । अस्पतालहरूको पूर्वतयारी, ज्वरो क्लिनिकको अभाव, तथा जनचेतनामूलक कार्यक्रमको कमजोर कार्यान्वयनले डेंगी नियन्त्रण चुनौतीपूर्ण बनाइरहेको छ ।
संवेदनशीलता र नीति निर्धारणमा आवश्यकता
कोरोना र डेंगी दुवै संक्रमणलाई एकसाथ व्यवस्थापन गर्नु गाह्रो छ। एकातिर परीक्षण र उपचार केन्द्रहरूमा पुनः चाप बढ्ने सम्भावना छ भने अर्कातिर डेंगीको केस प्रायः बालबालिका, वृद्धवृद्धा, र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिमा जटिल बन्ने खतरा छ। यस्तो संवेदनशील अवस्थामा स्थानीय तह, स्वास्थ्य कार्यालय र समुदायको त्रैस्तरीय समन्वय आवश्यक देखिन्छ ।
नेपाल हाल सार्वजनिक स्वास्थ्यको दोहोरो संकटको सामना गर्दैछ । कोभिड–१९ को नयाँ लहरको जोखिमसँगै डेंगी संक्रमण झन तीव्र रुपमा फैलिरहेको छ । तथ्यांक हेर्दा अहिले नै विशेष सतर्कता नअपनाए महामारीको पुनरावृत्ति हुन सक्छ । स्वास्थ्य निकायहरूले गम्भीर पूर्वानुमानलाई मध्यनजर गर्दै रोकथाम, परीक्षण, उपचार र जनचेतनामा तत्कालै प्रभावकारी कदम चाल्न जरुरी छ । महामारीबाट सिकेका पाठलाई व्यवहारमा उतार्न सकिएन भने, स्थिति नियन्त्रणभन्दा बाहिर जान समय लाग्दैन ।











प्रतिक्रिया