भन्सार छली गरी काठमाडौं भित्र्याइएको ४८३ किलो काजुसहित दुई जना पक्राउ


काठमाडौं। 

भन्सार छली गरी काठमाडौं भित्र्याइएको ४८३ किलो काजुसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई शंकास्पद अवस्थामा भेटिएको गाडी जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा  धादिङको गल्छी गाउँपालिका–२ का २४ वर्षीय रामबहादुर बिसुन्के र धनुषाको जनकपुर उपमहानगरपालिका–२ का २४ वर्षीय आर्यन साह रहेका छन्।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले साउन १५ गते राति १० बजे काठमाडौं महानगरपालिका–१३, चक्कु मार्गमा शंका लागी जाँच गरेको बा ८ च ६६ नम्बरको सवारीबाट बिल–बीजकबिना ल्याइएको काजु बरामद गरेको हो।

बरामद गरिएको काजु करिब ६ लाख २७ हजार ९ सय रुपैयाँ बराबरको मूल्य पर्ने प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुलदिप चन्दले जानकारी दिएका छन्।