सिन्धुली।
जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो वर्षासँगै आएको पहिरोसहित ढलेको रुखले किचरे दुई किशोरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
पानी परिरहेको बेला नजिकैको छाप्रोमा ओत लागिरहेका बालबालिका तथा किशोर–किशोरीमाथि सालको रुख ढलेर किचेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रुखले किचेर मृत्यु हुनेमा हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ का १६ वर्षीया सन्ता गोले र ९ वर्षीय सार्की थिङ रहेका छन् । उनीहरूलाई घटनास्थलबाट मृत अवस्थामा उद्धार गरिएको थियो ।

घटनामा गम्भीर घाइते भएका सोही ठाउँका १४ बर्षिया सिर्जना माया र १५ बर्षीया सन्ध्या भोलनलाई उपचारका लागि हेटौंडा पठाइएको छ । सात वर्षीय सुशील थिङ पनि घाइते भएका छन् । उनको मकवानपुरको बागमती गाउँपालिकामा रहेको पाँचपाण्डव पोलिक्लिनिक झुरझुरेमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदीले जानकारी दिए ।
स्थानीय बासिन्दा र प्रहरीको सहकार्यमा तत्काल उद्धार कार्य गरिएको थियो । निरन्तरको वर्षाले जमिन चिप्लिएको र पहिरोसँगै सालको रुख ढलेर छाप्रो माथि खस्दा दुर्घटना भएको बताइएको छ । मृतकको शव पोष्टमाटमको लागि मरिण गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट ल्याइएको छ ।











प्रतिक्रिया