विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रिया सम्पन्न


काठमाडौँ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकमा आज विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले विपद् व्यवस्थापनमा सुरक्षा निकायसँगको सहकार्य र समन्वय अनिवार्य रहेकोमा जोड दिएका थिए।

नेकपा (एकीकृत समाजवादी) बाग्मती प्रदेश सांसद तथा पार्टीको विपद् व्यवस्थापन विभाग प्रमुख डा. राजेन्द्रमान श्रेष्ठले नेपाल उच्च विपद् जोखिममा रहेको भन्दै पूर्व तयारी र सचेतना कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए। उनले सशस्त्र प्रहरी बल नेपालले विद्यालयस्तरमा सञ्चालन गरेको तालिम प्रभावकारी रहेको उल्लेख गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद उद्धव थापाले विपद् उद्धार कार्यमा सशस्त्र प्रहरी बलले देखाएको उच्च साहसको प्रशंसा गर्दै, सुरक्षा निकाय र राजनीतिक दलबीचको संयुक्त प्रयास अपरिहार्य भएको धारणा राखे।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समुदायलाई सचेत गराउँदै सहभागी गराउने हो भने विपद् जोखिम न्यूनीकरण थप प्रभावकारी हुने बताए। उनले सरकारबाट प्राप्त सहयोगका आधारमा विपद् व्यवस्थापन कार्य अझ सशक्त रूपमा अघि बढिरहेको जानकारी दिए।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले स्थानीय तहसँग समन्वयमा विपद् व्यवस्थापन कार्य हुँदै आएको भन्दै राजनीतिक दलसँगको सहकार्यले समुदायमा चेतना फैलाउने कार्यमा सहयोग हुने बताए।

नेपाली कांग्रेसका वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले स्वयंसेवक तालिम, प्राथमिक सामाग्रीको जोहो, र सूचना प्रवाहमा जोड दिँदै प्रत्येक वडामा कम्तीमा १०० जनालाई विपद् व्यवस्थापन तालिम दिनुपर्ने सुझाव दिए। उनले पार्टीबाट विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिने प्रतिबद्धता जनाए।

त्यसैगरी, नेकपा एमालेका वातावरण विभाग प्रमुख खिमलाल भट्टराईले पूर्व सूचना र सचेतनालाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। उनले विपद् उत्तरपश्चात उद्धारमा स्थानीय स्वयंसेवकको भूमिका महत्वपूर्ण हुने र सशस्त्र प्रहरीले त्यसतर्फ गरिरहेको प्रयास स्वागतयोग्य रहेको बताए।

कार्यक्रमले विपद् व्यवस्थापनमा राजनीतिक, प्रशासनिक र सामुदायिक सहकार्य आवश्यक रहेको स्पष्ट पारेको छ।