काठमाडौँ ।
सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह बिष्टलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले पनि सदर गरेको छ।
बिष्टले पूर्वसांसद रेशम चौधरीलाई पुनः थुनामा राख्न भनेर प्रहरीलाई पत्राचार गरेका थिए, त्यसपछि उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
जिल्ला अदालत काठमाडौँले बिष्टलाई १ लाख रुपैयाँ धरौटीमा छोड्दै मुद्दा अघि बढाउने आदेश दिएको थियो। तर उक्त आदेशप्रति असन्तुष्टि जनाउँदै बिष्टले साधारण तारेखमा छुट पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए। उता, पीडित रेशम चौधरीले भने बिष्टलाई थुनामा राखेरै मुद्दा अघि बढाइनु पर्ने माग गर्दै निवेदन दिएका थिए।
दुवै पक्षका निवेदनमाथि बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भएको थियो।
इजलासले जिल्ला अदालतको आदेशलाई यथावत् राख्दै बिष्टलाई धरौटीमा नै मुद्दा अगाडि बढाउने निर्णय दिएको हो।











प्रतिक्रिया