काठमाडौं।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो ( एनसीबी) कोटेश्वरले हालै विशेष सूचनाका आधारमा दुई पृथक अपरेशन मार्फत १ किलो ६०६ ग्राम कोकिनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये दुई जना इरिट्रियाली र रसियन नागरिक हुन् भने दुई जना भारतीय नागरिक छन्।
अप्रेशन १: नागार्जुनमा ३२ ग्राम कोकिनसहित दुई जना समातिए
यही साउन १२ गते काठमाडौँको नागार्जुन नगरपालिका वडा नं. ३, ईचङ्गुनारायण क्षेत्रमा कोकिन विक्रीको शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा इरिट्रियाली नागरिक ३७ वर्षीय युसुफ एटमलाई ३२ ग्राम कोकिनसहित पक्राउ गरिएको हो।
प्रहरीले थप अनुसन्धान गर्दा उनी बसेको होटलको कोठाबाट रसियन नागरिक ४४ वर्षीय आन्द्रे मालिशेभलाई समेत नियन्त्रणमा लिएको छ। दुबैलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम कारवाही अघि बढाइएको छ।
अप्रेशन २: विमानस्थलबाट निगरानी, होटलमा १.५७४ किलो कोकिनसहित दुई भारतीय पक्राउ
साउन १३ गते, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शंकास्पद गतिविधिमा संलग्न रहेकी भारतीय महिला ३५ वर्षीया रुबिना अब्दुल्लाह शेख काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलमा प्रवेश गरेपछि निगरानी गरिएको थियो। उनको साथमा रहेको झोलाबाट लुकाइछिपाई ल्याइएको १.५७४ किलोग्राम कोकिन बरामद गरिएको छ।
पक्राउपछि अनुसन्धान विस्तार गर्दा साउन १४ गते उक्त कोकिन लिन होटलमा आएका ३३ वर्षीय भारतीय पुरुष अरुण प्रतापलाई पनि सोही स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीको जनाएको छ।











प्रतिक्रिया