पुर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियतालाई रोक्न हुँदैन : एमाले नेता थापा


भक्तपुर ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियतालाई रोक्न नहुने बताउनुभएको छ । बुधबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता थापाले पूर्व राष्ट्रपति भण्डारीलाई निषेध गर्न खोज्नु राजनीति माथिको अंकुश भएको बताउनुभयो ।

एमाले विचारलाई बन्देज लगाउने पार्टी होइन भन्दै उहाँले राजनीतिक विचार र अभिव्यक्तिमा लगाइने कुनै पनि प्रतिबन्ध लोकतान्त्रिक मूल्यको उल्लंघन हुने बताउनुभयो । स्थायी कमिटी सदस्य थापाले पार्टीले संविधान, कानुन र जनताको बहुदलीय जनवादको मर्मविपरीत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन बन्देज लगाउन नहुने बताउनुभयो ।

नेता थापाले नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवाद अपनाएका बताउँदै विचार, अभिव्यक्ति र राजनीतिक स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । राजा रहिसकेका ज्ञानेन्द्र शाहलाई समेत नागरिकको हक खोस्न नमिल्ने बताउँदै थापाले कुनै पदमा पुग्दा त्यसको अवधि हुन्छ र पदावधि सकिएपछि त्यो व्यक्ति आम नागरिक बन्ने उल्लेख गर्नुभयो ।

राजनीतिक विषयवस्तु अगाडि सार्दैमा कोही पनि डराउनु पर्दैन भन्दै उहाँले कसैमाथि कारबाही हुन नहुने बताउनुभयो । राष्ट्रपति, पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन हुने वा नहुने भन्ने कुराको बहस गर्न सकिने भए पनि भण्डारीको एमालेमा फिर्ता हुने प्रक्रियालाई त्योसँग जोडेर हेर्न नहुने नेता थापाको भनाइ थियो ।
नेता थापाले पार्टीमा फरक मत र विचारलाई बन्देज लगाउँदा स्वस्थ प्रतिस्पर्धाको प्रणाली कमजोर हुने उल्लेख गर्नुभयो ।