नाउपाको संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ पदमुक्त


काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ बुधबार पदमुक्त हुनुभएको छ । पार्टी संरक्षकसमेत रहेका आफ्ना श्रीमान् रेमश चौधरीलाई पार्टी सदस्य हुनसमेत अयोग्य भन्दै अदालतमा जवाफ पेस गर्नुभएका श्रेष्ठलाई रेशम पक्षीय बहुमत केन्द्रीय सदस्यहरूले हटाउने गरी प्रस्ताव पारित गरेसँगै उहाँ अध्यक्ष पदबाट पदमुक्त हुने भएको हो ।

पार्टीले श्रेष्ठलाई पदमुक्त गर्ने निर्णय लिइसके पनि कानुनी बाध्यता र निर्वाचन आयोगले गर्नसक्ने निर्णयलाई आधार बनाएर थप निर्णय आजमात्रै हुने सो पार्टीका नेताहरूले बताएका छन् ।

पूर्वमन्त्री श्रेष्ठले आफूविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा लिखित जवाफ पेस गर्दै भन्नुभएको थियो– ‘जन्मकैदको सजाय भोगी कारागारमा बसेको अवस्थामा राजनैतिक दलको सदस्यता प्रदान हुने अवस्था थिएन र छैन । महाधिवेशनबाट केन्द्रीय अध्यक्ष चुनिने कुरा त परै जाओस् निजले संगठित सदस्यता प्राप्त गरी महाधिवेशनमा भाग लिन पाउने अवस्था समेत छैन ।’