रुसमा इतिहासकै छैटौं ठूलो भूकम्प

सुनामीको त्रास, दर्जनौं देश प्रभावित

3.1k
Shares

काठमाडौं ।

रुसको सुदूरपूर्वी क्याम्च्याट्का प्रायद्वीपमा बुधबार बिहान गएको ८ दशमलव ८ म्याग्निट्युडको शक्तिशाली भूकम्पले सम्पूर्ण प्रशान्त क्षेत्रलाई चकित तुल्याएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग यूएसजीएसका अनुसार यो भूकम्प आधुनिक इतिहासमा अभिलेख भएको छैटौं ठूलो भूकम्प हो ।

तास समाचार संस्थाका अनुसार रुसमा थुप्रै मानिस घाइते भएका छन् । क्याम्च्याट्काको अन्तर्राष्ट्रिय विमानस्थल सामान्य अवस्थामा सञ्चालनमा भए पनि केही सिलिङ प्यानल क्षतिग्रस्त भएको र प्रतीक्षालय खाली गरिएको छ । भूकम्पपछि मानिसहरूको भागदौड मच्चिएको थियो ।

यस शक्तिशाली भूकम्पको असर रुस, जापान, अमेरिका, चीन, पेरू, इक्वेडर, फिलिपिन्स, इन्डोनेसियालगायत दर्जनौं देशमा सुनामीको चेतावनी जारी गरिएको छ । जापानका तटीय सहरहरूमा समुद्री छालको उचाइ ३–४ मिटर पुगेपछि २० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको छ ।

भूकम्पको केन्द्रबिन्दु क्याम्च्याट्का प्रायद्वीपको पूर्वी तटबाट १२६ किमि टाढा, समुद्री सतहबाट करिब १० किमि गहिराइमा रहेको जनाइएको छ । पछिल्लो १० दिनभित्र उक्त क्षेत्रमा पाँचवटा भन्दा बढी भूकम्प आइसकेका थिए, जसले यो भूकम्प पूर्वचेतावनीजस्तो देखिएको छ । रुसी भौगर्भिक निकायका अनुसार सन् १९५२ यताकै यो सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् १९५२ मै क्याम्च्याट्कामा ९ म्याग्निट्युडको भूकम्प गएको थियो ।

जापानको होक्काइडो प्रान्तमा सुनामीको पहिलो लहर नेमुरो सहरमा बज्रिएको पुष्टि गरिएको छ । प्रारम्भिक लहर १२ इन्चको भए पनि त्यसपछिका लहरहरू ३ मिटर वा सोभन्दा माथिको भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । फुकुसिमास्थित आणविक ऊर्जा केन्द्रबाट सबै कर्मचारीलाई सुरक्षित स्थानमा लगिएको छ ।

अमेरिकाको हवाई, अलास्का र क्यालिफोर्नियामा पनि सुनामी चेतावनी जारी गरिएको छ । हवाईमा प्रारम्भिक खतरा कम हुँदै गए पनि अमेरिकी भूगर्भविद् हेलन जेनिसज्वेस्कीले सुनामीको लहर बन्दरगाहहरूमा गम्भीर असर पार्न सक्ने चेतावनी दिनुभएको छ ।

इतिहासमा शक्तिशाली भूकम्पमा के कति क्षति ?

चिली

८ दशमलव ८ म्याग्निट्युड (२०१०)
५२३ जनाको मृत्यु, ३ दशमलव ७ लाख घर ध्वस्त
प्रशान्त क्षेत्रका धेरै देश सुनामीबाट प्रभावित

एक्वेडोर–कोलम्बिया

८ दशमलव ८ म्याग्निट्युड (१९०६)
१ हजार ५ सय मानिसको मृत्यु
सुनामी सान फ्रान्सिस्कोसम्म पुगेको

रुस

क्याम्च्याट्का ९.दशमलव ० म्याग्निट्युड (१९५२)
विश्वमा रेकर्ड गरिएको पहिलो ९.० म्याग्निट्युडको भूकम्प

इन्डोनेसिया–बाँदा आचे

९ दशमलव १ म्याग्निट्युड (२००४)
२ लाखभन्दा बढीको ज्यान गएको, १४ देश प्रभावित

नेपालका लागि चेतावनी

नेपाल भूकम्पीय दृष्टिले अति संवेदनशील क्षेत्र हो । २०७२ सालको गोरखा भूकम्पले ९ हजारभन्दा बढीको ज्यान लिएको थियो । विशेषज्ञहरू भन्छन्– ‘हिमाली क्षेत्रमा भूकम्पका शक्तिको थुप्रो जम्मा भइरहेकाले अर्को ठूलो भूकम्पको सम्भावना रहेको छ ।’ अहिलेका स्मार्टफोनहरूमा रहेको एक्सेलेरोमिटर प्रयोग गरेर भूकम्पको प्रारम्भिक संकेत प्राप्त गर्न सकिन्छ । वैज्ञानिकहरू यसमा आधारित ‘डेसेन्ट्रलाइज्ड अर्ली वार्निङ’ प्रणाली विकास गरिरहेका छन् ।

रुसको क्याम्च्याट्का केन्द्रित यो महाभूकम्पले पुनः पुष्टि गरेको छ । प्राकृतिक विपत्तिको सामना विज्ञान, सतर्कता र सहकार्यबाट मात्र सम्भव हुन्छ । सतहका हलचलहरूले समग्र प्रशान्त क्षेत्रलाई प्रभावित बनाउने खालको हो भने नेपालजस्ता मुलुकले समयमै तयारी नगरे ठूलो क्षति बेहोर्नु पर्नेछ ।