काठमाडौं ।
वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने चार जना व्यक्तिहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारी अनुसार, बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिने झुटो आश्वासन दिँदै रकम उठाउने र त्यसपछि सम्पर्कविहीन हुने गिरोहका सदस्यहरूलाई पक्राउ गरिएको हो। पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा ठगीमा संलग्न चार जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सर्लाही चक्रघट्टा गाउँपालिका–४ का ३४ वर्षीय सतेन्द्र अधिकारी, काठमाडौं महानगरपालिका–४ का ३५ वर्षीय सुजन विक, सर्लाही विष्णु गाउँपालिका–७ का ४१ वर्षीय राज नारायण महतो र सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका–१ का २६ वर्षीय नविन खड्का रहेका छन्।
प्रहरीका अनुसार सतेन्द्र अधिकारीले कतारमा रोजगारी दिने भन्दै एक जना पीडितबाट ९० हजार रुपैयाँ उठाएका थिए। उनलाई साउन १२ गते काठमाडौं–३२ बाट पक्राउ गरिएको हो।
सुजन विकले जापानमा रोजगारी दिलाइदिने भन्दै ८ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए। उनी पनि साउन १२ गते काठमाडौं–३ बाट पक्राउ परेका हुन्।
राज नारायण महतोले कुबेत पठाउने भन्दै एक जना पीडितसँग २ लाख ५० हजार रुपैयाँ लिएको खुलेको छ। उनलाई साउन १३ गते कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरिएको हो।
नविन खड्काको ठगी सम्बन्धी विवरण अझै सार्वजनिक गरिन बाँकी भए पनि उनलाई पनि अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै व्यक्तिहरूलाई थप अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
प्रहरीले वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटनाहरूबाट सजग रहन आम सर्वसाधारणलाई आग्रह गर्दै, यस्ता घटना देख्दा वा भोग्दा तुरुन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।











प्रतिक्रिया