इलाम नगरपालिकाका महिलाहरूले वातावरणमैत्री उद्यमको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै स्थानीय स्रोतको प्रयोगमार्फत आत्मनिर्भरता र नवप्रवर्तनको बाटो राजेका छन् । केराको दाम्चाबाट निकालिएको प्राकृतिक रेसा प्रयोग गरी उनीहरूले डोरी बनाउने र त्यसै डोरीबाट सुन्दर हस्तकलाका सामग्री निर्माण गर्ने कार्यमा जुटेका हुन् ।
पर्यावरण संरक्षण, स्थानीय स्रोतको सदुपयोग र महिलाको आर्थिक सशक्तीकरणलाई एउटै सूत्रमा गाँसेर उनीहरूले उदाहरणीय कार्य गरिरहेका छन् । केराको दाम्चा जुन सामान्यतया फालिने जैविक फोहोर मानिन्थ्यो । अहिले उनीहरूका लागि आम्दानीको स्रोत र सिर्जनशीलताको माध्यम बनेको छ ।
सहयात्रा नेपाल इलामले गठन गरेका महिला समूह एवं एकल महिलालाई लक्षित गरेर हस्तकलाका सामग्री बनाउने अवसर जुराएको हो । सीप सिक्दै आएका महिलाहरुलाई डोरीबाट हस्तकलाका सामग्री बनाउन सिकाइरहेको सहजकर्ता सृजना श्रेष्ठले जानकारी दिनुभयो । यी उत्पादनहरू बजारमा आकर्षक मूल्यमा बिक्री गरेर महिलाहरूको जीविकोपार्जनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी (गंगा) शिवाले बताउनुभयो ।
टेवा काठमाडौंको आर्थिक सहयोगमा सञ्चालन गरेको यो सीप अहिले ३० जना महिलाहरुले सिकिरहेका छन् । सात दिनसम्म सिकाइने सीपमा झोला, ऐना, फूलदानी, टोकरीजस्ता सामग्रीहरु बनाउन सिकाइनेछ । स्थानीय स्तरमा उपलब्ध स्रोतलाई पुनः प्रयोग गरेर महिला उद्यमीहरूले वातावरणमैत्री जीवनशैलीलाई प्रवद्र्धन गर्न लागिपरेका हुन् । यो पहलले महिलाहरूमा सीप विकास, सामाजिक आत्मबल र आर्थिक स्वावलम्बनको ढोका खोलिदिएको छ ।
स्थानीय निकाय र गैरसरकारी संस्थाहरूले यस्ता गतिविधिमा प्रविधि, तालिम र बजार पहुँचजस्ता पक्षमा थप सहयोग गर्न सके इलामको यो वातावरणमैत्री प्रयास सम्पूर्ण देशका लागि अनुकरणीय नमुना बन्न सक्नेछ । केराको फोहोरलाई बहुमूल्य उत्पादनमा रूपान्तरण गर्दै इलामका महिलाहरूले देखाएको यो उदाहरणले दिगो विकासमा टेवा पुग्नेछ ।











प्रतिक्रिया