ट्रामाडोल क्याप्सुलसहित एक भारतीय नागरिक सिम्रौनगढबाट पक्राउ


काठमाडौँ ।

बाराको सिम्रौनगढ नगरपालिका–६ स्थित नहर सडकबाट एक भारतीय नागरिकलाई ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

शाखा कार्यालय वीरगञ्जबाट खटिएको प्रहरी टोलीले मंगलबार गते साँझ ७:३० बजे भारतबाट नेपाल प्रवेश गरिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लाको जितना थाना, अगवि ग्रामपञ्चायत वडा नम्बर ६, कोडिगावा बस्ने ५० वर्षीय मन्जन साह उर्फ उपेन्द्र साह रहेको प्रहरीले जनाएको छ।

साह सवार रहेको BR 05 BK 7035 नम्बरको Honda मोटरसाइकल जाँच गर्ने क्रममा ट्रामाडोल क्याप्सुल १०,३८० पिस, मोबाइल फोन १ थान, र मोटरसाइकल १ थान बरामद गरिएको छ।

प्रहरीका अनुसार उक्त लागुऔषध अवैध रूपमा नेपाल भित्र्याउन खोजिएको आशङ्कामा निजलाई नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानपछि उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ।

प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउँदै कारबाहीलाई तीव्र बनाएको जनाएको छ।