कैलाली।
राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी निर्माण गरिएको रानी जमरा कुलरिया सिँचाई आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार एक समारोहकाबीच उद्घाटन गरे । प्रधानमन्त्री ओलीले सोही नहरबाट उत्पादन भएको ४.७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको समेत औपचारिक शुभारम्भ गरे ।
उक्त जलविद्युत आयोजना कैलालीको जानकी गाँउपालिकाको कटासेमा निर्माण गरिएको छ । प्रधानमन्त्री ओलीले रानी जमरा कुलरिया सिँचाईआयोजनाले कैलालीको लम्की चुहा,टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका किसानलाई सिँचाई सुविधा पुग्ने बताए । परम्परागत सिँचाईलाई आधुनिकीकरण गरेर बाह्रै महिना सिँचाई सुविधा उपलब्ध गराएर कृषि क्षेत्रको विकासमा ठूलो योगदान दिन यो आयोजना सफल भएको उनले बताए । रानी जमरा कुलरिया सिँचाई आयोजनाको पहिलो र दोस्रो चरणको काम सम्पन्न भएपछि कैलालीको पश्चिम कान्द्रा सम्म पुग्ने सिँचाई नहर निर्माणकालागि तेस्रो चरणको काम सरकारले छिट्टै शुरु गर्ने बताए । सो कार्यकालागि सरकारले सोमवार मात्र मन्त्रिपरिषदबट ०.२ प्रतिशत ब्याजमा ऋण लिएर तेस्रो चरणको काम शुरु गर्ने निर्णया गरेको उनले जानकारी दिए ।
करोडौं वर्षदेखि बगेको कर्णाली नदीबाट १२९ वर्ष अघि यस क्षेत्रका किसानहरुले परम्परागत कुलोको प्रयोग गरेर सिँचाई ब्यवस्था गरेका थिए। तर रानी जमरा कुलरिया सिँचाई आयोजनाको निर्माण पछि सुरक्षित र ब्यवस्थित नहरबाट सिँचाई उपलब्ध हुने भएपछि किसानहरुमा खुशीयाली छाएको प्रधानमन्त्री ओलीले बताए । अव कर्णाली नदीबाट चाहेको बेलामा पानी ल्याउन सक्ने ब्यवस्थित नहर बनाएको वर्षातको समयमा कर्णाली नदी बस्तीमा पस्छकी भन्ने डर अव नरहेको उनको भनाई छ । सोही नहरबाट उत्पादिन विद्युत राष्ट्रिय प्रशारणमा जोडिएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले थोरै भएपनि विद्युतमा योगदान पुर्याएको चर्चा गरे ।
प्रधानमन्त्री ओलीले मुलुकमा २५ लाख हेक्टर जमिनमा सिँचाईको आवश्यकता भएपनि १५ लाख हेक्टर जमिनमा सिँचाई सेवा पुगेको र ५ लाख हेक्टर जमिनमा बाह्रै महिना सिँचाई सुविधा उपलब्ध हुन सकेको बताए । सुनकोशी मरिन डाईभर्सन ,भेर बबै डाइभर्सन लगायतका सिँचाई आयोजनाहरुको कामलाई द्रुतता दिनुपर्ने आवश्कता औल्याए । चाइनिज कम्पनीले सुरुंग खन्ने काम सकेपनि सिँचाईको अन्य काम बाँकी रहेकाले ती कममा तिब्रता दिनुपर्ने आवश्यकता रहेको बताए । प्रधानमन्त्री ओलीले चुरे संरक्षणकालागि सरकारको ध्यान गएको प्रसंग उल्लेख गर्दै चुरे क्षेत्रमा तालहरुको निर्माण गरेर ब्यावसायिक माछापालनको काम शुरु गरिने बताए । चुरे क्षेत्रमा ताल निर्माण गर्न सकेमा तराईमा रिचार्जको काम हुने भएकोले यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । कैलालीको गोरांगेमा सेनाको ब्यारेकमा हेलीप्टरबाट उत्रिएका प्रधानमन्त्री ओलीले कर्णाली सिचापानीमा निर्माण गरिएको सिँचाई आयोजनाको बाँधका स्थलगत निरिक्षण गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको हस्ताक्षर अभियान तथाकथित भन्दै प्रधानमन्त्री ओलीले भने ‘हस्ताक्षर गर्दै जाँदा कतै तिन करोड भन्दा बढी होलानी ’। नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसदमा लोकतन्त्र र गणतन्त्र विरोधीहरु पनि भएकाले संसद बहिस्कार गर्नु कुन ठूलो कुरा भयोर भन्दै ब्यवस्था विरोधी र तरमाराहरुबाट के अपेक्षा राख्न सकिन्छ र? प्रश्न गरे । प्रधानमन्त्री ओलीले एक प्रसङ्गमा भने ‘चुनावमा प्रतिस्पर्धा गरौंला देश मिलेर निर्माण गरौं ’ ।
कार्यक्रममा उर्जा जलस्रोत मन्त्री दीपक खड्का,सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बोलेका थिए । मन्त्रालयका सचिव सरिता दवाडीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन आयोजना प्रमुख प्रेम घिमिरेले गरेका थिए ।
सिँचाई आयोजनाको पहिलो र दोस्रो चरण र विद्युत उत्पादनका लागि २१ अर्ब ३२ करोड ९८ लाख रुपैंया खर्च भएको आयोजना प्रमुख प्रेम घिमिरेले जानकारी दिए ।
सिंचित कृषि क्षेत्रको अभिबृद्धि,संघीय नेपालको सम्वृद्धिको मुल नारासहित शुरु गरिएको रानी जमरा कुलरिया सिँचाई आयोजना पहिलो र दोस्रो चरण गरेर असार मसान्तमा निर्माण सम्पन्न भएको छ । वि.सं २०६८सालबाट निर्माण शुरु भएको रानी जमरा कुलरिया सिँचाईआयोजनाको पहिलो चरणको निर्माणको काम २०७५ सालमा सम्पन्न भएको थियो भने दोस्रो चरणको काम २०८२ असार मसान्तमा सम्पन्न गरेको छ । २०६६-२०६७ मा टीकापुरमा कार्यालय स्थापना गरेको रानी जमरा कुलरिया सिँचाई आयोजना पहिलो र दोस्रो चरणमा गरेर नहर निर्माणको काम सम्पन्न भएको छ । सम्पन्न सिँचाई आयोजनाले १४हजार ३ सय हेक्टर जमिन सिँचाई गरेको छ ।
उक्त आयोजनाबाट २३ हजार ६ सय २२ घरधुरीका १ लाख ४२ हजार ३ सय ६६ जनसंख्या प्रत्यक्ष लाभान्वित भएकाछन् । राष्ट्रिय गौरवको आयोजना अन्तरगतको उक्त आयोजनामा कुल २१ अर्ब ३२ करोड ९८ लाख रकम खर्च भएको छ । यस्तै आयोजनाको तेस्रो चरणको काम कैलालीको कान्द्रा नदीसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ । पथरैया नदी सम्मको नहर विस्तारले करिब ६ हजार हेक्टर र कान्द्रा नदी सम्मको नहर विस्तारले १८ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पुग्ने लक्ष्य राखिएको छ । जम्मा ३८ हजार ३ सय हेक्टर जमिनमा सिँचाई सुविधा हुने उक्त नहर आर्थिक वर्ष २०८५-०८६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको आयोजना प्रमुख प्रेम घिमिरेले जानकारी दिए । तेस्रो चरणको कामका लागि करिब १३७ मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।











प्रतिक्रिया