ओलीको कार्यक्रममा जाँदै गर्दा सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किए 


धनगढी। 

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा चिसापानीमा आयोजना भएको रानी जमरा कुलरिया सिँचाइ आयोजना उद्घाटन कार्यक्रममा सहभागी हुन जाँदै गरेका सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएर दुर्घटनामा परेका छन्।

मंगलबार बिहान कैलालीको लम्कीमा भएको दुर्घटनामा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार दुई सरकारी गाडी आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्की बहुमुखी क्याम्पस नजिकै मन्त्री पाल सवार से.१ झ ३३० नम्बरको कालो गाडीका चालकले बाटोमा रहेका एक व्यक्तिलाई अभिवादन गर्न एक्कासि ब्रेक लगाएका थिए। त्यही बेला पछाडिबाट तीव्र गतिमा आइरहेको कानूनमन्त्री सार्की सवार बा.२ झ १४१९ नम्बरको रातो गाडी अगाडिको गाडीमा ठोक्किएको हो।

दुर्घटनामा मानवीय क्षति नभए पनि रातो गाडीको अगाडिको भाग पूर्णरूपमा क्षतिग्रस्त भएको र सो गाडी अब संचालनयोग्य नरहेको प्रहरीको भनाइ छ। त्यस्तै, कालो गाडीको पछाडिको भागमा समेत क्षति पुगेको छ।

दुवै मन्त्री सकुशल रहेको र उनीहरूलाई अर्को सवारी साधनमार्फत कार्यक्रम स्थल चिसापानी पु-र्याइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।