लागुऔषधविरुद्ध ब्यूरोको कडा निगरानी: एक वर्षमै १६७५ अभियुक्त पक्राउ

टनौं मादक पदार्थ बरामद


काठमाडौं।

  नेपाल प्रहरी अन्तर्गतको लागुऔषध नियन्त्रण ब्यूरोले आर्थिक वर्ष २०८१र८२ मा देशभर लागुऔषध कारोबार र दुर्व्यसनविरुद्ध चलाएको अभियान प्रभावकारी बनेको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जीवन निरौलाका अनुसार, सो अवधिमा कूल १,१३२ वटा मुद्दा दर्ता गरिँदा १,६७५ जना अभियुक्त पक्राउ परेका छन्।

पक्राउ परेकामध्ये १,४९८ जना पुरुष र १७७ जना महिला रहेका छन्। त्यस्तै, १,५९२ जना नेपाली र ८३ जना विदेशी नागरिक विभिन्न किसिमका लागुऔषध कारोबारमा संलग्न अवस्थामा पक्राउ परेका हुन्।

टनौं लागुऔषधसहित अत्यधिक मात्रामा औषधिजन्य पदार्थ बरामद

ब्यूरो तथा मातहतका कार्यालयहरूले आर्थिक वर्ष २०८१ र८२ मा भारी मात्रामा लागुऔषध बरामद गरेका छन्। कोकिन मात्रै १८ किलो ९१९ ग्राम बरामद गरिएको छ, जुन नेपालमा हालसम्मकै एक वर्षमा सबभन्दा बढी परिमाण भएको ब्यूरोले जनाएको छ।

त्यस्तै, २५ किलो २३७ ग्राम हेरोइन, २८ किलो अफिम, २७२ ग्राम एम्फेटामाईन, ३ हजार २ सय ५० किलो चरेश तथा गाँजा, र थाइल्याण्डबाट ल्याइएको २०७ किलो गाँजा समेत बरामद गरिएको छ।

औषधिजन्य लागुऔषधका रूपमा प्रयोग गरिने वस्तुहरू पनि उल्लेखनीय मात्रामा बरामद भएका छन्। जसमा औषधिजन्य नियन्त्रित एम्पुल – ५८,०५७ थान, ट्रामाडोल क्याप्सुल – १० लाख २८ हजार १ सय २ थान, नाईट्रोभेट ट्याब्लेट – १ लाख १९ हजार ९ सय ८२ थान , कोडिन सिरप – ४७ लिटर ,ईफ्रिड्रिन – ८५४ ग्राम रहेका छन । प्रवक्ता निरौलाका अनुसार, ‘लागूऔषधका क्षेत्रमा महिला र विदेशी संलग्नता बढ्दो देखिएको छ। ट्रान्जिटको रूपमा नेपाल प्रयोग गर्न खोज्ने गिरोहहरूसँगको सामना अझ कडा बनाइएको छ ।’

‘ट्रान्जिट प्वाइन्ट’ बनाउने प्रयास, प्रवृत्ति जटिल बन्दै

ब्यूरोको विश्लेषण अनुसार, पछिल्लो समय लागुऔषध कारोबारीहरूले नेपाललाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट प्वाइन्ट’ बनाउने रणनीति लिएका छन्। प्रविधिको दुरुपयोग गर्दै लागुऔषध ओसारपसारको बाटो अझ गोप्य, जटिल र गम्भीर बन्दै गएको छ। विशेषतः भारत र तेस्रो मुलुकतर्फ चरेश, गाँजा, कोकिनजस्ता पदार्थ लैजाने गिरोह सक्रियरूपमा सक्रिय रहेको पाइएको छ।

त्यस्तै, औषधिजन्य लागुऔषध— विशेषत ट्रामाडोल, नाइट्रोभेट, कोडिन—को अवैध विक्री र प्रयोग युवापुस्तामा निकै बढेको देखिन्छ। यस्ता औषधिको प्रयोगले तत्काल नशा ल्याउने भए पनि दीर्घकालीन रूपमा मस्तिष्क, कलेजो र सामाजिक व्यवहारमा गम्भीर असर पार्दछ ब्यूरोका एक अधिकृतले बताए।

ब्यूरोले समाजमा लागुऔषधविरुद्ध जनचेतना अभिवृद्धि गर्न सामुदायिक, पारिवारिक र शैक्षिक संस्थासँग सहकार्य आवश्यक रहेको औंल्याएको छ। प्रवक्ता निरौलाले भने–‘एक्लो प्रहरी प्रशासनले मात्र लागुऔषध नियन्त्रण गर्न सक्दैन। यसका लागि विद्यालय, अभिभावक, समुदाय र स्थानीय तहको सहकार्य अपरिहार्य छ।’

नेपालजस्तो भौगोलिक रूपमा खुला सीमाना भएको मुलुकमा लागुऔषध नियन्त्रणको चुनौती झनै जटिल छ। तथापि, आर्थिक वर्ष २०८१र८२ मा देखिएको ब्यूरोको हस्तक्षेप र उपलब्धिहरूले सकारात्मक संकेत दिएको छ।