द्रुतमार्गको गति रोक्ने खोकना–डुकुछाप खण्ड: आयोजना समयमै सम्पन्न हुनेमा गम्भीर आशंका

7.14k
Shares

अहिले कहाँ कति काम भयो ? के भइरहेको छ ?

काठमाडौं।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं–तराई-मधेस द्रुतमार्ग (एक्सप्रेस वे) को निर्माण कार्य तीव्र गतीमा अघि बढिरहे पनि प्रवेश विन्दु खोकना र डुकुछाप क्षेत्रमा देखिएको विवादले सो आयोजना तोकिएको मितिमा सम्पन्न हुनेमा गम्भीर आशंका उत्पन्न भएको छ ।

नेपाली सेनाको नेतृत्वमा सन् २०१७ देखि निर्माण अगाडि बढेको यो आयोजनालाई सरकारले २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । तर, वर्तमान प्रगति र रोकावटले त्यो सम्भावनालाई कमजोर बनाइरहेको देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यो आयोजनालाई राष्ट्रिय सुरक्षासँग जोडिएको रणनीतिक महत्वको सडकका रूपमा व्याख्या गर्दै पटक–पटक सम्बद्ध मन्त्रालय र नेपाली सेनालाई समयमै कार्य सम्पन्न गर्न निर्देशन दिँदै आउनुभएको छ । आइतबार बालुवाटारमा भएको सरोकारवालासँगको छलफलपछि पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले समयमा नै आयोजना सम्पन्न गर्न निर्देशन दिएको भनाइ सार्वजनिक गर्नुभएको छ । उहाँले भन्नुभएको छ– ‘काठमाडौं–तराई÷मधेस द्रुतमार्ग हाम्रो रणनीतिक महत्वको सडक आयोजना हो । यसले काठमाडौंलाई १ घण्टामा तराईसँग जोड्नेछ । खोकना–डुकुछाप खण्डको निर्माणमा उत्पन्न समस्याबारे गहन छलफल भएको छ । वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यो आयोजना सम्पन्न गर्नैपर्छ ।’

तर, समस्या जटिल बन्दै गएको छ । खोकना र डुकुछाप क्षेत्रमा जमिन अधिग्रहणका विषयमा स्थानीयसँग सहमति नहुनु, मुआब्जा वितरण प्रक्रियाको ढिलाइ, र ऐतिहासिक सांस्कृतिक महत्व भएको क्षेत्रको विनाशको आरोपले वातावरण अझै चिसिएको छ ।

स्थानीय आन्दोलनलाई नेतृत्व दिइरहेकी माओवादी नेतृ पम्फा भुसाललगायतको समूहमाथि परियोजनाको प्रगति रोक्ने र व्यक्तिगत लाभसँग जोडिएको आरोपसमेत लाग्दै आएको छ । राष्ट्रिय आयोजना होस् वा सरकारी प्रयास, कुनै पनि ‘रुचि समूह’को प्रभावमा अल्झिनु भनेकै सार्वजनिक हितमाथि चोट पुग्नु हो, भन्नेमा विज्ञहरू एकमत भएका छन् ।

अहिले कहाँ कति काम भयो ? के भइरहेको छ ?

२०७९ साउनदेखि हालसम्म कूल ३८दशमलव २६ प्रतिशत भौतिक प्रगति भएको छ भएको छ भने २०७९ यता ३९ दशमलव ८४ प्रतिशत आर्थिक प्रगति भएको देखिन्छ ।

फास्ट ट्रयाकको मुख्य मार्ग ७२ दशमलव ५ किमी लम्बाइको सडकमध्ये अधिकांश भागमा ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ । कूल ६ सुरुङमध्ये महादेवटार सुरुङको काम ६५ प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ भने लेन्दे्रडाँडा र दुध्रे सुरुङको ब्रेक थ्रु सम्पन्न भएको छ । बाँकी ३ सुरुङमा ड्रिलिंगको काम चलिरहेको छ ।

कूल ८९ वटा पुलमध्ये ५ वटा पूर्ण रूपमा तयार भएका छन् भने ३० भन्दा बढीमा ढलानको काम चलिरहेको छ । केहीमा संरचनागत डिजाइन फेरबदल भएकाले निर्माणको काम शुरू हुने चरणमा रहेको छ ।

ठूला र अग्ला पुल

साना पुलहरू सहज गतिमा निर्माण हुँदै गर्दा अग्ला पुलहरूमा निर्माण सामग्री ढुवानी, डिजाइन परिमार्जन, र ढलानको प्रविधिक जटिलता कारण केही ढिलो भइरहेको आयोजनाले जनाएको छ ।

यो द्रुतमार्ग निर्माण सम्पन्न भएसँगै काठमाडौं–तराई यात्रा समय ६ घण्टाबाट १ घण्टामा झर्ने छ, जसले दैनिक लाखौं रुपियाँको इन्धन बचत गर्ने छ ।
यातायात व्यवसायी महासंघका अध्यक्ष वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, हाल तराईबाट राजधानीसम्म खाद्यान्न, इन्धन, निर्माण सामग्री ल्याउँदा ठूलो इन्धन खपत हुन्छ । यो सडक खुल्नासाथ औसत ३०–४० प्रतिशत इन्धन लागत घट्ने छ ।

काठमाडौंसँग व्यापारिक र कृषि उपजको सीधा र छिटो पहुँच बन्नेछ । तराई क्षेत्रको श्रमिक र व्यावसायिक जनशक्ति राजधानी आउन सजिलो हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा २–३ प्रतिशत वृद्धि हुने सम्भावना रहेको विज्ञहरूले औंल्याएका छन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले यो आयोजना केवल सडक होइन, नेपालको राष्ट्रिय स्वाभिमानसँग जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी हाम्रा प्राविधिक, उपकरण र मानवीय स्रोतमा कुनै कसर बाँकी राखेका छैनौं । तर, कानुनी, स्थानीय, वातावरणीय स्वीकृतिजस्ता विषयमा राज्यको सहजीकरण आवश्यक छ । समय सीमित छ, त्यसैले सहकार्य नै एक मात्र उपाय हो ।’

काठमाडौं–तराई÷मधेस द्रुतमार्गको आवश्यकता जति गम्भीर छ, त्यसको निर्माणको वर्तमान अवस्था त्यति नै चुनौतीपूर्ण छ । प्रवेश विन्दुमा देखिएको विवाद समाधान नगरिएमा तोकिएको मितिमा काम सम्पन्न हुने सम्भावना टाढिँदै गएको छ ।

तर प्रधानमन्त्रीको स्पष्ट निर्देशन, नेपाली सेनाको लगनशीलता र सरोकारवालाको सहकार्यबाट यो राष्ट्रिय गौरव आयोजना समयमै सम्पन्न हुने आशा अझै बाँकी छ।