सिन्धुलीमा १६ जनाको हायू परिवार चार दिनदेखि सम्पर्कविहीन, प्रहरीको खोजी कार्य तीव्र 

14.66k
Shares

सिन्धुली । 

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पा नजिक भण्डास बिप्पर कटेरीका उर्मिला हायूसहित १६ जनाको परिवार चार दिनदेखि सम्पर्कविहीन भएका छन् । 

सम्पर्क विहीन हुनेहरुमा उर्मिला सहित उनका ६ जना छोरा, ६ जना छोरी, एक जना बुहारी, एक जना नाति र एक जना नातिनी रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । वर्ष ५२ की उर्मिला छोराहरु हायुसहित २९ वर्षका राजु हायु, २४ वर्षका हिमाल हायु, १६ वर्षका लाल बहादुर हायु, १४ वर्षका बेग बहादुर हायु, ११ वर्षका लक्की हायु, १२ वर्षका सुवर्ण हायु, बुहारी २३ वर्षकी कोमल माया हायु, छोरीहरु २७ वर्षकी कमला हायु, १२ वर्षकी सान्ता हायु, २२ वर्षकी उषा हायु, १९ वर्षकी सुजता हायु, १८ वर्षकी अस्मिता हायु, १० वर्षकी ओम कुमारी हायु,  नाति १ वर्षका अर्जुन हायु र ४ वर्षकी रियासा हायु रहेका सिन्धुली प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

गाउँमा एकान्तमा रहेको घरमा छिमेकी पुग्दा कोही पनि नभेटिएपछि सोमवार प्रहरीलाई खबर गरिएको गोलन्जोर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिएका छ्न । वडाध्यक्ष श्रेष्ठका अनुसार भान्साघर जलेको अवस्थामा छ । साथै भाँडाहरू अस्तव्यस्त भेटिएको छ । खोरमा पाँचवटा बाख्रा समेत भोकै अवस्थामा रहेका र कुकुर रोइरहेको अवस्थामा भेटिएको छ । 

सोमवार घरमा प्रहरी सहितको टोली पुग्दा कोही पनि नभेटिएको प्रहरी उपरीक्षक सुवेधीले बताए ।‘घर वरीपरीको वातावरण हेर्दा त्यस्तो असामान्य घटना भएको देखिँदैन । सबै सामान्य अवस्थामा नै छ । के भयो ? कता गए भन्ने तत्काल भन्ने स्थिति छैन । हामी खोज्दैछौ’ उनले भने। 

सिन्धुली, रामेछापसहित छिमेकी जिल्लाहरुमा खोजीकार्यलाई तिव्रता दिइएको प्रहरी उपरीक्षक सुवेदीले बताए । पछिल्लो समय मोबाइलको लोकेसन रामेछापको मन्थली देखिए पनि सबैको मोबाइल स्विच अफ रहेको प्रहरी उपरीक्षक सुवेदीको भनाई छ ।  

उनीहरूको घरबाट नजिकको सडकमार्ग पुग्न झन्डै २ घण्टा हिँड्नुपर्छ । त्यहाँबाट मध्यपहाडी लोकमार्गको बलेनी र हैबार पुगेर गाडी चढ्न सकिन्छ । हैबारबाट खुर्कोट ५ किमि र त्यहाँबाट मन्थली १९ किलोमिटर रहेको छ । त्यस्तै बलेनीबाट खुर्कोट ८ किलोमिटर रहेको छ ।

अल्पसंख्यक लोपोन्मुख हायू जाति भएकाले सामाजिक सुरक्षा भत्ता लिँदा वडा तथा पालिकामा फोन नम्बर हुने भएकाले सम्पर्कको प्रयास गरिराखिएको अध्यक्ष श्रेष्ठले बताए। 

उर्मिला हायूको परिवारले केही दिनअघि मात्र सामाजिक सुरक्षा भत्ता बुझेको खुलेको छ । वडा अध्यक्ष श्रेष्ठका अनुसार सम्पर्कविहीन हुनुभन्दा केही दिनअघि हायू परिवारका १६ जनाले बुधवार आर्थिक वर्ष ०८१-८२ को अन्तिम किस्तास्वरूप तीन महिनाको भत्ता बुझेका हुन् । 

वडाध्यक्ष श्रेष्ठका अनुसार हायू परिवारका सबैले प्रतिमहिना ३ हजार ९ सय ९० का दरले तीन महिनाको १ लाख ९१ हजार ५ सय २० रुपैयाँ बुझेका हुन् । उनीहरूले गोलन्जर गाउँपालिका–७, खुर्कोटमा रहेको हिमालयन बैंकबाट भत्ता बुझेका हुन् ।

बेपत्ता हायू परिवारको अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप

सम्पर्कविहीन भएका सिन्धुलीको गोलन्जोर गाउँपालिकाका एकै परिवारका १६ जना अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको खुलेको छ।

पक्राउ पत्ता लगाउन प्रहरीले सिमन्दीछाप क्षेत्रमा खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।सिमन्दीछापको टावरबाट सिन्धुलीको घर क्षेत्रको मोबाइल कभरेज देखिएको हुनसक्ने डीएसपी भोलाकुमार भट्टले बताए । 

उनीहरुको मोबाइल ट्रेस गर्नेक्रममा प्रहरीले अन्तिम लोकेसन रामेछाप नगरपालिका–९ सिमन्दीछाप भन्ने स्थानमा देखिएको हो ।

‘लोकेसन देखिएको ठाउँमा हामीले खोजी कार्य सुरु गरेका छौ । अहिले सम्म केही पत्ता लागेको छैन । रामेछाप नगरपालिका– ८ र ९ क्षेत्रको हायूवस्तीमा खोजी गरिरहेका छौ’ डीएसपी भट्टले भने ।  

बेपत्ता परिवारका सदस्यको मोबाइल अफ हुनुअघि अन्तिम लोकेसन पत्ता लागेपछि त्यहाँ रहेको हुनसक्ने आशंकाले प्रहरीले खोजी कार्य तीव्र बनाएको हो ।