कार्यान्वयन भएका सुधारका योजना
१.४ जीपीए ल्याउने विद्यार्थीलाई २–२ लाख पुरस्कार
२.पढ्दै रमाउँदै, सिक्दै कमाउँदै योजना लागू
३.एउटा विद्यालय गाभियो, अर्कोको तह घटुवा
४.सबै विद्यालयमा शैक्षिक क्यालेन्डर लागू
५.पञ्चवर्षीय नगर शिक्षा योजना बनाउँदै
७.सबै शिक्षक कर्मचारीको अनिवार्य जिडिटल हाजिर
८.मावि प्रअलाई २ हजार र आधारभूतका प्रअलाई १ हजार प्रोत्साहन भत्ता
९.हरित विद्यालय, सबै विद्यालयमा फूलबारी
१०.सुत्केरी बिदामा सट्टा कर्मचारी राखिने
११.सबै विद्यालयमा सेनिटरी प्याड भेन्टिङ र डिस्पोजल गर्ने व्यवस्था
१२.११ र १२ सञ्चालन गरी शून्य दरबन्दी भएका विद्यालयमा एक शिक्षक अनुदान
१३.ईमिस फोकल पर्सनलाई ५ सय भत्ता
१४.सबै विद्यालयमा नेपाल भाषा शिक्षक
१५.तीन विद्यालयमा संस्कृत शिक्षक, नैतिक शिक्षासँग संस्कृत जोड्दै
ललितपुर ।
ललितपुर महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सुधार्न गर्न २५ विद्यालयलाई अनुदान दिएका कारण यस पटकको ललितपुर महानगरको एसईईमा सुधार भएको छ । एसईईमा सहभागी हुने विद्यार्थीलाई जाडो बिदामा विद्यालय चलाउन प्रतिविद्यालय ३० हजार रुपियाँ गरी महानगरले ७ लाख ५० हजार रुपियाँ अनुदान दिएको थियो । सोही अनुदानका
आधारमा विद्यालयले एसईई लक्षित पढाई शुरू गरेको थियो ।कमजोर विद्यार्थीलाई एसईईमा उत्कृष्ट नतिजा ल्याउनेगरी पढाई सञ्चालन गरेपछि परीक्षामा अपेक्षाकृत नतिजा आउन सफल भएको ललितपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख देवीप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार गएको वर्ष एसईईमा उत्तीर्णको संख्या ५६ प्रतिशत थियो भने यो वर्ष ८१ प्रतिशत पुगेको छ । उहाँले सोही आधारमा अनुदान रकम वृद्धि गर्ने विषयमा छलफल भइरहेको पनि जानकारी दिनुभयो ।
एसईई सुधार भएपछि महानगरको शिक्षा महाशाखाले पञ्चवर्षीय नगर शिक्षा योजना तयार गरी सोही आधारमा थप कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । ललितपुरका सामुदायिक विद्यालयलाई देशैभरका उत्कृष्ट बनाउन पञ्चवर्षीय योजना तयार भइरहेको महाशाखाले जनाएको छ । पढाइमा मात्र होइन सरसफाइदेखि सूचना प्रविधिसम्म,अतिरिक्त क्रियाकलापदेखि बगैंचा निर्माणसम्मलाई जोडेर नयाँ योजना कार्यान्वयन गर्न लागेको महाशाखा प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामुदायिक विद्यालयलाई हरित विद्यालय कार्यक्रमअन्तर्गत एक विद्यालय एक बगैंचा कार्यक्रम सञ्चालन भइरहेको छ । महाशाखाले ३९ सै सामुदायिक विद्यालयलमा बगंैचा निर्माण गर्न प्रतिविद्यालय १ लाख रुपियाँका दरले कूल ३९ लाख रुपियाँ सहयोग गरेको छ । त्यस्तै सबै विद्यालयमा डिजिटल हाजिर व्यवस्था गरेको छ । रजिस्टरमा भन्दा पनि डिजिटल हाजिरको आधारमा अनुगमन गरिने महाशाखाले जनाएको छ ।
महाशाखाले ९ सय ७० शिक्षकमध्ये ७ सय ७२ स्वीकृत, १ सय ५५ राहत, ५७ जना करार, १७ बालविकास सहजकर्तालाई अनिवार्य रूपमा डिजिटल हाजिरी गर्ने व्यवस्था गरेको छ ।स्मार्ट विद्यालय अवधारणाअनुसार २५ सामुदायिक विद्यालयमा स्मार्टबोर्ड व्यवस्था गरेको छ । त्यस्तै, कक्षा ११ र १२ मा शुन्य दरबन्दी रहेका ६ विद्यालयलाई एकएक जना शिक्षक अनुदान दिएको छ । मावि तहमा ‘माइ सेकेन्ड टिचर’मार्फत पढाइ शुरू गरेको छ ।
महाशाखाले सरकारी र निजी गरी सबै विद्यालयमा एउटै क्यालेन्डर लागू गरेको छ । सोही आधारमा असार ३० गते सबै विद्यालयमा पहिलो त्रैमासिक परीक्षा सञ्चालन गरिएको जानकारी दिँदै प्रमुख उपाध्यायले भन्नुभयो– ‘सबै विद्यालयमा शैक्षिक क्यालेन्डर र सबै शिक्षकले अनिवार्य रूपमा महाशाखाले उपलब्ध गराएको डायरी बोक्नैपर्ने बाध्यकारी व्यवस्था गरेको छ । महाशाखाले बिदाबाहेक सबै कार्यक्रम क्यालेन्डरअनुसार गर्न सबै विद्यालयलाई पत्राचार गरेको छ ।’
महाननगरले एउटा विद्यालयलाई अर्कोमा गाभिएको र अर्कोलाई तह घटाएको जनाएको छ । महाशाखा प्रमुख उपाध्यक्षले कक्षा ८ सम्म २२ जना विद्यार्थी अध्ययन गरिरहेका कुम्भेश्वर आधारभूत विद्यालयमा एक कक्षा मात्र सञ्चालन गर्ने व्यवस्था गरेको छ ।
कृषि उदय आधारभूत विद्यालयलाई श्रमजीत किशोरमा गाभिएको छ । ‘प्रअलाई आफ्नो कामप्रति उत्तरदायी बनाउन मावि तहको सामुदायिक विद्यालयका प्रअलाई मासिक दुईहजार र आधारभूत विद्यालयका प्रअलाई एकहजार भत्ता दिने थालेको जानकारी दिँदै उहाँले भत्ता दिएपछि प्रअको अनुगमन गरिने बताउनुभयो ।
उहाँले सबै विद्यालयका इमिस फोकल पर्सनको जिम्मेवारी तोकिएको र सामुदायिक विद्यालयको इमिस फोकल पर्सनलाई मासिक ५ सय रुपियाँ प्रोत्साहन भत्ता व्यवस्था गरेको पनि जानकारी दिनुभयो । त्यस्तै, सामुदायिक कलेजलाई पनि अनुदान दिइएको छ भने ‘पढ्दै रमाउँदै, सिक्दै कमाउँदै’ कार्यक्रम पनि शुरू गरिएको छ ।
त्यसै गरी महिला शिक्षा तथा कर्मचारी सुत्केरी भएका बेलामा ४ महिना बराबरको सट्टा कर्मचारी राख्ने व्यवस्था गरिएका छ । जगतगुरु मावि, पञ्चेश्वर र बालकुमारीमा संस्कृत शिक्षा शुरू गरिएको छ । नैतिक शिक्षालाई संस्कृतसँग जोड्न सहयोग अनुदान दिइएको छ । सेनेटरी प्याड भेन्टिङ र डिस्पोजल मेसिन उपलब्ध गराउने भएको छ ।
यसैबीच शैक्षिक सुधार योजना कार्यान्वयन गरेकै कारण सामुदायिक विद्यालयका प्रधान अध्यापकहरूको संस्था प्रिन्सिपल एसोसियसन नेपालबाट ६ महानगर र ११ उपमानगरपालिकामध्ये ललितपुरले उत्कृष्ट महानगरपालिका पुरस्कार प्राप्त गरेको छ ।
१ करोड ८८ लाख रुपियाँको एसर्ईई पुरस्कार दिँदै
ललितपुर महानगरपालिकाले यो वर्ष संस्थागत र सामुदायिक विद्यालयबाट ३ दशमलव ९६ देखि ४ जीपीए र संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउने ८२ जना विद्यार्थीलाई जनही २ लाखका दरले पुरस्कार दिने भएको छ । महानगरपालिका शिक्षा महाशाखा प्रमुख देवीप्रसाद उपाध्यायले ४ जीपीए ल्याउने सामुदायिक विद्यालयका ८ र संस्थागत विद्यालयका ७४ जना विद्यार्थीलाई २ लाखका दरले १ करोड ६४ लाख र ६ सामुदायिक विद्यालयलाई ४ लाखका दरले २४ लाख गरी १ करोड ८८ लाख रुपियाँको पुरस्कार दिने निर्णय भएको बताउनुभयो ।
सामुदायिक तर्फबाट आदर्श सौल युवक माविबाट २, मदनस्मारक, नमुना मच्छिन्द्र, त्रिपद्म, श्रमिक शान्ति र प्रगतिका १–१ जनाले २ लाख र विद्यालयले ४ लाख रुपियाँ पाउनेछन् । त्यसै गरी संस्थागततर्फ २२ विद्यालयका ७४ जना विद्यार्थीले जनही २–२ लाख रुपियाँ पाउनेछन् । सबैभन्दा बढी जेम्सका १५, लिटल एन्जल्सका १२, सेन्ट जेभियर्स जावलाखेलका १०, युलेन्सको ८, नाइटिङ्गेलका ५, ओमेगाका ४, ब्राइट फ्युचर र डीएभीका ३–३ जना र बाँकी सबै विद्यालयका १–१ जनाले २ लाख रुपियाँ पाउनेछन् ।











प्रतिक्रिया