बुद्धिराज बज्राचार्यको नाउँमा ठोस काम गर्नुपर्ने खाँचो औँल्याइयो


ललितपुर।

आधुनिक ललितपुरको जग बसाल्ने स्वर्गीय बुद्धिराज बज्राचार्यको श्रद्धाञ्जली सभाका वक्ताहरुले उहाँको योगदानलाई भावी पुस्ताका लागि स्मरणीय बनाइराख्न ठोस काम गर्नुपर्ने खाँचो औँल्याएका छन् ।

बौद्ध विहारको संयोजनमा ललितपुरकाम २७ वटा संघसंस्थाले आइतबार उनको जन्मस्थल यशोधर महाविहार बुबहालमा आयोजित सभामा उनीहरुले सो खाँचो औँल्याएका हुन्।

सो अवसरमा शोक वक्तव्य पठाउँदै प्रधानमन्त्री केपीशर्मा ओलीले ललितपुर महानगरपालिकाका पूर्व मेयर, पूर्व मन्त्री बज्राचार्यको निधनले एक अभिभावक गुमाएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले पुल्चोकको अक्षयेश्वर महाविहारको पुनःनिर्माण, बौद्ध विहार संघको स्थापना र त्यसलाई लामो समयसम्म सक्रिय तुल्याउन बज्राचार्यको महत्त्वपूर्ण योगदान रहेको पनि स्मरण गरे।

सभामा पूर्व उप्रधानमन्त्री एवंम गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुद्धिराज बज्राचार्य एक राजनीतिकर्मी भएपनि व्यक्तित्वको मुल पक्ष भने सामाजिक तथा संस्कृति र सम्पदा जोगाउने प्रतिबद्ध व्यक्तिका रुपमा रहेको धारणा राखें । उनको योगदानलाई चिरस्मरणीय बनाउन ठोस कामहरु गर्नुपर्नेमा जोड दिँदै पूर्वउपप्रधानमन्त्री श्रेष्ठले यसबाट लामो समयसम्म प्रेरणा लिइरहनसक्ने बताए।

शिक्षामन्त्री रघुजीपन्तले स्वर्गीय बज्राचार्य ललितपुरको कला, संस्कृति र सम्पदा संरक्षकका एक धरोहर रहेको बताए ।

वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले चक्रपथबाहिर साविकका गाविस बौद्ध विहारमा निर्माणमा बज्राचार्यले पु¥याउनुभएको योगदानको चर्चा गरे ।

ललितपुर क्षेत्र नं २ का संघीय सांसद् प्रेमबहादुर महर्जनले बज्राचार्य एक सफल राजनीतिकर्मी, सफल समाजसेवी रहेको बताए ।

वाग्मती प्रदेशसभाका सदस्य शैलेन्द्रमान बज्राचार्यले उहाँको योगदानलाई चिरकालसम्म सम्झिरहने वातावरण तयार गर्न सालिक बनाउनुपर्ने सुझाव दिए ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पञ्चायतकालमा आफू दुई पटक वडाअध्यक्ष हुँदा बज्राचार्य प्रधानपञ्च रहेको र उहाँसंगै काम गरेर आफ्नो राजनीतिक करियरको आधारशीला तयार भएको बताए । बज्राचार्यको जीवनी सम्बन्धी पुस्तक महानगरपालिकाले प्रकाशित गरिदिने पनि उनले आश्वासन दिए ।

सो अवसरमा २७ वटा संघसंस्थाले संयुक्त रुपमा तयार पारेको समवेदनापत्र बज्राचार्यका परिवारलाई प्रदान गरेको थियो।सभामा बौद्ध विहार संघका अध्यक्ष करुणारत्न बज्राचार्यले बुद्धिराज बज्राचार्य एक बहुआयामिक व्यक्तित्व रहेको चर्चा गरे। 

ललितपुर विकासका लागि समाजका अध्यक्ष विकासरत्न धाख्वाले बज्राचार्यको सक्रियतामा पुनःनिर्माण भएको सम्पदाको विषयमा जानकारी दिए। सभामा स्थविरवाद, महायान र बज्रयान गरी बुद्ध धर्मका तीन वटै निकायको तर्फबाट भिक्षु, लामा गुरु र बज्राचार्य गुरुजुले धार्मिक परम्पराअनुसार पाठ गरेका थिए ।