काठमाडौं ।
चीनको सांघाई वल्र्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई यही साउन १० गते सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईका उपलब्धिहरूको पहुँचमा समानताको वकालत गर्नु भएको छ ।
मन्त्री पृथ्वीसुब्बा गुरुङले यस सन्दर्भमा भन्नुभयो– ‘एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनुपर्छ । हामी विकासशील राष्ट्रहरूका लागि कम्प्युटिङको शक्ति, ओपन मोडलहरू र डेटा सेटहरू प्रदान गर्न अन्तर्राष्ट्रिय सहयोगको आग्रह गर्छौं ।’
विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन २०२५ र विश्वव्यापी एआई शासनसम्बन्धी उक्त उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री पृथ्वीसुब्बा गुरुङले पारदर्शिता, समावेशिता, जबाफदेहिता र एआईको गैर–सैन्यीकरणलाई प्रवद्र्धन गर्ने संयुक्त राष्ट्रसंघको नेतृत्वको चार्टरलाई समर्थन गर्ने बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो– ‘एआईले हाम्रो अर्को पुस्तालाई सशक्त बनाउनुपर्छ । हामी विश्वव्यापी रूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तन प्रवद्र्धन गर्न विश्व एआई शिक्षा कोषका लागि आह्वान गर्छौं ।’
मन्त्री गुरुङले एआईमा नेपालको दृष्टिकोण, समावेशी तथा मानव–केन्द्रित विकासका लागि एआई रहेको बताउनुभयो । एआईसम्बन्धी उक्त विश्व सम्मेलनमा मन्त्री गुरुङले नेपालको एआई लक्ष्यका बारेमा स्पष्ट पार्दै नेपालले रणनीति र अन्तर्राष्ट्रिय सहकार्यका लागि राष्ट्रिय एआई केन्द्र स्थापना गर्ने, अग्रणी विश्वविद्यालयहरूमा एआई उत्कृष्टता केन्द्रहरू र सबै प्रदेशहरूमा नवप्रवर्तन हबहरू सुरु गर्ने, शासन, सार्वजनिक सेवा, विपद् प्रतिक्रिया, कृषि, शिक्षा र स्वास्थ्यमा एआईलाई प्रवद्र्धन गर्ने र विद्यालयदेखि विश्वविद्यालय तहसम्म एआई र डिजिटल साक्षरतालाई अनिवार्य बनाएर हाम्रा युवालाई एआई युगका लागि तयार गर्ने लक्ष्य रहेको बताउनुभयो।











प्रतिक्रिया