नुसानद्वारा कीर्तिपुरमा सांस्कृतिक पदयात्रा


काठमाडौँ। 

नेपाल अमेरिका एलुम्नी नेटवर्क (नुसान) ले शनिबार विहान कीर्तिपुरमा एक सांस्कृतिक पदयात्राको आयोजना गर्‍यो । कीर्तिपुर नगरपालिकासंगको सहकार्यमा आयोजित करिब २ घण्टा लामो उक्त सांस्कृतिक पदयात्रामा करिब १०० पदयात्रीहरु सहभागी भएका थिए । पदयात्रामा काठमाडौंस्थित अमेरिकी दूतावासका कार्यकारी राजदूत जेसोन पी. मीक्स, कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, नेपाल पर्यटन वोर्डका कार्यकारी अधिकृत दिपकराज जोशी, नुसानका अध्यक्ष प्रवीणा अमात्य लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।

कीर्तिपुरको चिथुबाट सुरु भएको सो पदयात्रा उमामहेश्वर मन्दिरमा गएर समापन भएको थियो । सो अवसरमा कीर्तिपुरको लाखे नाच, धीमे बाजा तथा बांसुरीवादन लगायतका सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। सो पदयात्रामा युएसजी एलम्नाई सदस्यहरु, पर्यटन व्यवसायी, अमेरिकी दूतावासका कर्मचारी, कीर्तिपुर नगरपालिकाका सदस्य तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

सो पदयात्रा कीर्तिपुरको विविध ऐतिहासिक तथा सांस्कृतिक पक्षहरुमाथि प्रकाश पार्नुका साथै कीर्तिपरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो । सो अवसरमा बोल्दै कीर्तिपरका मेयर डंगोलले कीर्तिपरको पर्यटन प्रवर्द्धन निम्ति संचालन गरिने होमस्टे लगायतका कार्यक्रममा सबैको सहभागिताको निम्ति आह्वान गर्नुका साथै कीर्तिपुरमा स्थानीयहरुको आयआर्जनका निम्ति पर्यटन प्रवध्र्दनमा नगरपालिकाले जोड दिएको कुरा बताएका छन् ।