पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश अस्वीकार्य : राजेन्द्र  गौतम

940
Shares

भक्तपुर ।

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश अस्वीकार्य भएको बताएका छन् ।

आज नेपाल प्रेस सोसाइटीले भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रचार विभाग प्रमुख  गौतमले भण्डारीको एमाले पार्टी सदस्यता नबिकरण नहुने बताए ।

भण्डारीले देशको पूर्व राष्ट्रपति भएको हेक्का राख्नुपर्ने बताउँदै गौतमले संविधानलाई जोडेर उहाँले भन्नुभएको राजनीति गर्नु मेरो हक हो भन्ने कुराले कुनै अर्थ नराख्ने बताए ।

राष्ट्रपति भएपछि सांसद पदबाटै राजीनामा दिनुपर्छ र उहाँ पार्टीको केन्द्रीय कमिटीको निर्णयले नै जानुभएकोले केन्द्रीय कमिटीको निर्णयले नै आउन मिल्दैन भनिसके पछि स्वाभाविक रूपमा पार्टी सदस्यता नवीकरण नगरिएको उल्लेख गरे ।

‘विधानको धारा ८ र ९ हेर्नुभए हुन्छ,सभामुख उपसभामुख, राष्ट्रियसभा अध्यक्ष,उपाध्यक्ष लगायतको हकमा विधानको धारा ९ आकर्षण हुन्छ र  उहाँहरू सदस्यता स्थगित गरेर जानुहुन्छ, पार्टी छाड्न पर्दैन, गौतमले भने, तर राष्ट्रपति भएपछि सांसद पदबाटै राजीनामा दिनुपर्छ सोही बमोजिम भण्डारी पार्टी  केन्द्रीय कमिटीको निर्णयले नै जानुभएको हो। केन्द्रीय कमिटीको निर्णयले नै आउन मिल्दैन भनिसक्यो। संविधानलाई जोडेर मेरो मौलिक हक हो भन्ने कुराले अर्थ राख्दैन।’

एमालेको हालै सम्पन्न केन्द्रिय कमिटी बैठक सर्वसहमतिको वातावरणमा सम्पन्न भएको बताउँदै उनले पार्टी अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोप निराधार भएको दाबी गरे ।

गौतमले पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्यतालाई लिएर सार्वजनिक रूपमा गरेको जिकिरलाई पार्टी भित्रको गम्भीर विषयको रुपमा नलिइने बताए ।