भूकम्प स्मृति स्तम्भ गोरखामा पूरा, नामावली अपूरो


गोरखा ।

२०७२ साल बैशाख १२ को विनाशकारी भूकम्पको स्मृतिमा बारपाकमा भूकम्प स्मृति स्तम्भ निर्माण कार्य सम्पन्न भएको छ। उक्त स्तम्भमा भूकम्पबाट मृत्यु भएका १४ जिल्लाका सबै मृतकको नाम राख्ने योजना भएपनि आवश्यक नामावली प्राप्त नहुँदा हालसम्म गोरखा जिल्लाका ४९० मृतकको नाम मात्र ताम्रापत्रमा लेखेर राखिएको छ।

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय पोखराका सब–इन्जिनियर पुरुषोत्तम पंगेनीले भने, ‘स्मृति स्तम्भको सबै काम पूरा भइसकेको छ। तर अन्य प्रभावित १३ जिल्लाका मृतकको नामावली अझै गृह मन्त्रालयबाट प्राप्त हुन सकेको छैन।’ यसै कारण अन्य जिल्लाको मृतक संख्या मात्र स्तम्भमा उल्लेख गरिने तयारी छ।

२०७४ मंसिर १४ गते ठेक्का सम्झौता भई सुरु भएको पार्क निर्माणमा स्मृति स्तम्भ प्रमुख आकर्षण बनेको छ। बारपाकस्थित सरकारी जग्गामा पार्क निर्माणका लागि आवश्यक संरचना निर्माण भइसकेको छ। कुल लागत १३ करोड ७ लाख १५ हजार रुपैयाँ रहेको पार्कले भूकम्पले प्रभावित क्षेत्रको इतिहास स्मरण गराउने र आन्तरिक पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ।

निर्माण जिम्मेवार स्वच्छन्दरहोमका होम बहादुर बानियाँले भने, ‘दुई वर्षसम्म नामावली माग्दा पनि उपलब्ध नभएपछि गोरखा जिल्लाका नाम मात्र राखिएका हुन्। अब सम्झौता अनुसारको काम सकिएको छ र हस्तान्तरण प्रक्रिया बाँकी छ।’

स्थानीयले पार्क निर्माणले क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास लिएका छन्।