भक्तपुर ।
भक्तपुरमा दुई दिदीबहिनी मृत फेला परेका छन् । एउटै डोरीमा झुन्डिएको अवस्थामा दुई जना किशोरीको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।मध्यपुर थिमि नगरपालिका–८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका र उनकी बहिनी १४ वर्षीया सृजना कँडेल मृत फेला परेको प्रहरीले जनाएको छ ।
कँडेल दिदीबहिनी स्थानीय निरज चक्रधरको दुई तले घरको भुईं तलामा बस्थे । उनीहरू बिहान पौने ७ बजे कोठाकै प्यासेजमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिएका दिदीबहिनी भारतबाट नेपाल आएको खुलेको छ । बुबाआमासँगै भारतको मुम्बईमा बस्दै आएका सुर्खेत पञ्चपुरी नगरपालिका–८ स्थायी ठेगाना भएका उनीहरूको शव शंकास्पद अबस्थामा भेटिएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक(डीएसपी) ढुण्डीराज नेउपानेले जानकारी दिए ।
प्रहरीका अनुसार, उनीहरू १५ दिन अघिमात्रै बोडे आएको खुलेको छ । उनीहरूले चलाउँदै आएको मोबाइल फोन बरामद गरिएकाले थप विवरण खुल्ने प्रहरीको विश्वास छ ।‘‘प्रारम्भिक अनुसन्धानबाट आत्महत्याजस्तो देखिन्छ । तर, थप अनुसन्धान गर्दै छौँ । उनीहरूको मोबाइल फोन बरामद भएको छ । थप अनुसन्धानकै क्रममा छौँ,’’ डीएसपी नेउपानले भने ।
प्रहरीका अनुसार, सिर्जना र मेनुकाका बुवाआमा लामो समयदेखि भारतमा बस्दै आएको खुलेको छ । प्रहरीले मृतकका आफन्त नआएकाले शव उठाएको छैन ।उनीहरु भारतबाटै बुबाआमाबाट सम्पर्कबिहीन भए पछि अभिभावकले खोजीगरीरहेको बुझिएको छ ।
भारतबाट अभिभावक आएपछि मुचुल्का गरेर शव पोस्टमार्टम गर्न अस्पताल पठाइने जानकारी दिंदै डीएसपी नेउपाने त्यतिन्जेलसम्मका लागि घटनास्थल सुरक्षित राखेको बताए ।आफन्तले मृतकका बाबुआमा आएपछि मात्रै शव उठाउनु भनेपछि घटनास्थल सुरक्षित गरेर राखिएको र बुबाआमा हवाईमार्गबाट आउन लागेको प्रहरीको भनाई छ ।
मृत फेला परेका उनीहरूले गएराति टिकटक पनि बनाएको भेटिएको छ । उनीहरूले किन मृत्युको बाटो रोजे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।दिदी–बहिनी परिवारलाई नभनी नेपाल आउनु, विद्यार्थी हो भनेर डेरामा बस्नु र नेपाल आएको १५ दिनमा दुवैले एकै स्थानमा आत्महत्या गर्नुले घटना शंकास्पद देखिन्छ ।











प्रतिक्रिया