काठमाडौं ।
बारा जिल्ला पूर्वाधार विकास कार्यालय कलैयाका निलम्बित प्रमुख राजेन्द्र साहको नामबाट उपभोक्ता समितिको खाता सञ्चालन भइरहेको र करिब १४ करोड रुपैयाँको आर्थिक कारोबार भएको भेटिएको छ।
साहले जेठ २१ गतेदेखि निलम्बनमा भएता पनि राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखामा असार २२ गतेसम्म खाता सञ्चालन गरेका थिए।
मदन भण्डारी र महेन्द्रनारायण आवास कार्यक्रमअन्तर्गत गरिब र विपन्नहरूको लागि पठाइएको बजेटको भुक्तानीमा कमिसन चलिरहेको सूचनाका आधारमा अनुसन्धान गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले यस विषयमा गम्भीर अनुसन्धान भइरहेको र कारबाही प्रक्रियामा रहेको बताए। निलम्बित प्रमुख साहले आफूले कुनै अनियमितता नगरेको दाबी गरेका छन्।
केही कर्मचारीमाथि पनि धम्की र कमिसन मागेको आरोप लागेको छ भने कार्यालय प्रमुखले खाता रोक्का गराउने र दोषीलाई कारबाहीका लागि सिफारिस गर्ने बताएकी छन्।
असार महिनामा मात्र पूर्वाधार निर्माणमा १ अर्ब ७ करोड रुपैयाँ खर्च भएको जानकारी पनि दिइएको छ।














प्रतिक्रिया