मधेस सरकारमा नेतृत्वको रस्साकस्सी


काठमाडौं ।

मधेस प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको भन्दै सत्तारुढ दलहरू कांग्रेस, एमाले र जनमतबीच विवाद सुरु भएको छ। १४ महिना अगाडि गठित सरकारमा जनमत पार्टीले नेतृत्व गरिरहेको छ, तर अब कांग्रेसले आफ्नो पालो भएको भन्दै नेतृत्वको माग गर्दैछ।

कांग्रेस नेता कृष्ण यादवले केन्द्रीय सहमति अनुसार नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् भने जनमत पार्टीका मुख्यमन्त्री सतिस कुमार सिंहले आलोपालो सहमति नभएको दाबी गरेका छन्।

एमालेले पनि आलोपालो नेतृत्वको समझदारी भएको पुष्टि गर्दै छलफल आवश्यक रहेको जनाएको छ। यद्यपि, हाल सरकार अस्थिर नहुने गठबन्धनका सबै दलको धारणा छ।