२ सय विकास आयोजनाको गति तीव्र बनाउने गृहकार्य

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले थाल्यो अध्ययन


काठमाडौं ।

सरकारले लामो समयदेखि रुग्ण रहँदै आएका र गति लिन नसकेका विभिन्न महत्वपूर्ण क्षेत्रका २ सय विकास आयोजनालाई एकैपटक गति दिने गरी विशेष गृहकार्य अघि बढाएको छ । मुलुकमा हजारौं विकास आयोजनाहरू सञ्चालनमा रहेका भए पनि कैयांै वर्षसम्म ती आयोजना सम्पन्न हुन सकेका छैनन् । जसका कारण आयोजनाको लागत समेत ४ –५ गुनासम्म बढेर मुलुकको राजस्वमा क्षति भइरहेको छ भने जनताले ती विकास आयोजनाबाट प्रतिफल पाउन सकेका छैनन् ।

विकास आयोजनाहरूलाई गति दिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनसँगै प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयमार्फत सञ्चालन भइरहेका २ सयवटा विकास आयोजनाहरूको छनौट गरी त्यसलाई तीव्र गतिका साथ अघि बढाउने गृहकार्य थालिएको प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँले आर्थिक तथा सामाजिक क्षेत्रका रूपान्तरणकारी आयोजनाहरूको पहिचान गरी ती आयोजनाको कार्यान्वयनलाई प्रभावकारी रूपमा अघि बढाउने गरी योजना अघि सार्नुका साथै वर्षांैदेखि सञ्चालनमा रहेका र समयमा नै सम्पन्न हुन नसकेका सडक, खानेपानी, कृषि, विद्युत्, सिँचाई, क्षेत्रका झण्डै २ सय विकास आयोजनाहरू छनौट गरी छिटोभन्दा छिटो त्यस्ता आयोजनालाई द्रुत गतिका साथ अगाडि बढाउने निर्णय गरेको जानकरी दिनुभयो ।

उहाँका अनुसार यसका लागि विभिन्न मन्त्रालयहरूसँग आवश्यक छलफल र समन्वय भइरहेको छ । त्यसका आधारमा रूपान्तरणकारी आयोजनाहरू छनौट गर्ने कार्यसम्पन्न गरी मुलुकको सिंगो विकास गतिविधिलाई नयाँ उचाइ प्रदान गर्ने गरी अघि बढाइएको प्रधानमन्त्री ओलीका निजी सचिव कुँवरको भनाइ थियो ।