काठमाडौं ।
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई जागिर लगाइदिने भन्दै झुठा आश्वासन दिई रकम ठगी गर्ने गंगाहरि न्यौपाने पक्राउ परेका छन् । उनीमाथि विगत एक दशकदेखि विभिन्न नक्कली कागजात, फर्जी निर्णय र सरकारी पदको दुरुपयोग गर्दै ठगी गर्दै आएको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले काठमाडौं नयाँबानेश्वर क्षेत्रबाट उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पठाइएको छ ।
न्यौपानेले आफू गृह मन्त्रालयमा कार्यरत उच्च पदस्थ कर्मचारी भएको दाबी गर्दै केही बेरोजगार व्यक्तिहरुलाई मन्त्रालयमा करार जागिर लगाइदिने आश्वासन दिएका थिए । त्यसै अनुसार उनले नागरिकताको प्रतिलिपि, अन्य आवश्यक कागजात संकलन गरी फर्जी कर्मचारी फारम भराएर लाखौं रुपैयाँ असुलेको उजुरी परेको थियो ।
पक्राउ परेपछि अनुसन्धानका क्रममा न्यौपानेमाथि यसअघिका गम्भीर ठगी तथा किर्ते मुद्दा समेत खुलेका छन ।
२०६९ भदौ २६ मा सैनिक अनुसन्धान तथा आचरणसम्बन्धी मुद्दामा विशेष अदालतको नक्कली पत्र तयार गरी कारागार कार्यालयमा बुझाएर एक कैदीलाई छुटाएको प्रहरी प्रतिवेदन ।
२०७४ वैशाख ८मा भिआइपी कोटामा शान्ति सेनामा पठाइदिन्छु भन्दै एक व्यक्तिबाट चार लाख रुपैयाँ ठगी ।
२०७४ फागुन ८ मा नख्खु कारागारमा रहेका कैदी छुटाइदिन्छु भन्दै कैदीका आफन्तबाट बाह्र लाख रुपैयाँ असुलेको उजुरी ।
२०७५ जेठ २२ मा जग्गा बिक्री गरिदिन्छु भन्दै लालपुर्जा लिई बिक्री गरी रकम ठगी ।
२०७५ भदौ ९ मा नेपाली सेनामा सहायक सेनानी बनाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई प्रलोभन देखाएर ठगी ।
२०७९ मंसिर ७ मा काठमाडौं जिल्ला अदालतको नक्कली फैसला तयार गरी लिखत सम्बन्धी कसूर गरेको भन्ने प्रहरी प्रतिवेदन ।
यसरी विभिन्न कालखण्डमा बारम्बार किर्ते कागजात,झुठा आश्वासन र ठगीमा संलग्न रहेका गंगा हरि न्यौपानेमाथि ‘पूर्व नियोजित अपराधिक शैलीमा ठगी गर्ने गिरोहको सदस्य’को रुपमा समेत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
स्रोतका अनुसार उनीसँग अन्य व्यक्ति तथा निकायको समेत मिलेमतो हुन सक्ने आशंका छ । प्रहरी अनुसन्धान जारी रहेको र ठगी पीडित थप हुन सक्ने अनुमान गरिएको छ ।











प्रतिक्रिया