हेटौंडा ।
पार्टीमा क्रियाशीलताका विषयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीबीचको सम्बन्धमा थप दरार आइरहेको बेला नेकपा एमालेका केन्द्रीय नेताहरु विभाजित हुन थालेका छन् ।
कोही खुलेर भण्डारीको पक्षमा लागेका देखिन्छन् भने कोही ओलीको पक्षमा सार्वजनिकरुपमा नै अभिव्यक्ति दिइरहेका देखिन्छन् । पार्टीको बागमती प्रदेश संसदीय दलका नेता तथा पार्टी केन्द्रीय सदस्य जगन्नाथ थपलियाले राष्ट्रियताको रक्षार्थ ओलीको नेतृत्वको विकल्प नरहेको दाबी गरेका छन् । एमालेको दुई दिने केन्द्रीय समिति बैठकमा नेता थपलियाले ‘पार्टीभित्र ऐक्यबद्धता र अनुशासन आवश्यक भएको’ बताएका हुन् ।
उनले भने–राष्ट्रियताको रक्षाका लागि केपी ओली एकमात्र नेता हुनुहुन्छ, विकल्प खोज्नु भनेको हामी कमजोर हुनु हो । ओली पार्टी र सरकारको नेतृत्वमा आएपछि धेरै महत्वपूर्ण कामहरु भएको पनि उनको जिकिर छ । नेता थपलियाले पार्टीको जिल्लास्तरको संगठनलाई समन्वयमा ल्याएर पालिका र प्रदेश सरकारलाई प्रभावकारी कार्यान्वयन निकाय बनाउनु जरुरी रहेको बताए । उनले पार्टीभित्रको एकता र नेतृत्वप्रति आस्था मजबुत बनाउने दिशामा सबै तहका नेताहरुले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
नेता थपलियाले पछिल्लो समय सामाजिकसञ्जालमार्फत पार्टी र नेताहरुमाथि भइरहेका अनावश्यक प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गरे । पार्टीको जिम्मेवारीमा बसेर पार्टीविरुद्ध क्रियाकलाप गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा नेता थपलियाले स्पष्ट अडान राखे । उनले भने–पार्टीले गरेका राम्रा कामहरुलाई छायामा पार्न कतिपय व्यक्तिहरु आफ्नै पार्टीभित्रबाट षडयन्त्र गरिरहेका छन् । उनले यस्ता कार्यलाई सहन नसकिने र छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने माग गरे । थपलियाले पार्टीको सुदृढीकरण र अनुशासन कायम राख्न नेतृत्वले कडाइसाथ निर्णय लिनुपर्ने र पार्टीभित्रको विश्वसनीयता र सार्वजनिक छवि सुदृढ गर्न सबैले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए ।
नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्यौपानेले भने पूर्वराष्ट्रपति भण्डारीलाई विवाद नगरी पार्टीमा स्वागत गर्नुपर्ने बताएका छन् । एमाले केन्द्रीय कमिटी बैठकमा मंगलबार केन्द्रीय सदस्य न्यौपानेले भण्डारीले सदस्यता त्यागेको विषय प्राविधिक भएको भन्दै यसलाई विवादको विषय बनाउन नहुने बताएका हुन् । ‘विद्या भण्डारी पार्टीमा लाग्दा पार्टी बलियो नै हुन्छ । राष्ट्रपति बनाउने निर्णय यही पार्टीले गरेको हो र उहाँले त्याग्नुभएको सदस्यता भनिएको प्राविधिक कुरा हो,’ उनले भने–त्यसैले उहाँको पार्टी सदस्यलाई विवादको विषय नबनाइयोस् र उहाँलाई पार्टीमा स्वागत गरियोस् ।’ ओलीको पक्षमा बहुसंख्यक केन्द्रीय सदस्यले बोलिरहेको केन्द्रीय कमिटी बैठकमा धेरैले पूर्वराष्ट्रपति पार्टीमा फर्कन नहुने बताइरहेका छन् । बैठकमा कतिपय नेताले ओलीलाई ११ औं महाधिवेशनअघि नै अध्यक्ष घोषणा गरेर जानुपर्नेसमेत बताएका थिए ।
एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको राजनीतिमा सक्रिय हुनबाट रोक्ने निर्णय गरेपछि भण्डारीले कडा चेतावनी दिँदै आफू ‘चुप लागेर नबस्ने’ बताएका छन् । एमाले केन्द्रीय कमिटी बैठक चलिरहेकै बेला मंगलबार पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीले आफूलाई सक्रिय राजनीतिमा आउनबाट रोक्न चाहेको आभास पहिलेदेखि मिलेको र हाल त्यो स्पष्ट भएको बताइन् ।
मंगलबार मध्यरात सकिएको एमाले बैठकले भण्डारीलाई एमालेको राजनीतिमा आउनबाट रोक्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको उक्त निर्णयलाई आगामी भदौमा बस्ने विधान महाधिवेशनबाट अनुमोदन गराउने पार्टीको योजना छ । उक्त निर्णयसँगै एमालेभित्र पूर्वराष्ट्रपति भण्डारीको भूमिकालाई लिएर नयाँ समीकरण बन्ने सम्भावना देखिएको छ ।











प्रतिक्रिया