मितेरी पुल बगाएपछि चीनमा अलपत्र परेका २०३ नेपाली बुधबार फर्काइने


रसुवा ।

रसुवाको टिमुरेमा रहेको मितेरी पुल बगाएपछि चिनियाँ भूमिमा अलपत्र परेका करिब दुई सय नेपाली नागरिकलाई बुधबार नेपाल फर्काइने भएको छ ।

गत असार २४ गते नेपाल चीन सीमाको ल्हेन्दे खोलामा आएको बिनाशकारी बाढीले त्यहाँ रहेको मितेरी पुल बगाएपछि चीनतर्फ केरुङमा अलपत्र परेका नेपाली नागरिकलाई बुधबार तातोपानी ९चांमु० नाकाबाट नेपाल ल्याउने व्यवस्था गरिएको ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले जानकारी दिएका छन् ।

महावाणिज्यदूत निरौलाका अनुसार केरुङमा अलपत्र परेका २०३ नेपालीलाई चीन सरकारका तर्फबाट सुरक्षित बसोबासको व्यवस्था मिलाइएको र दुबै देशको निरन्तरको कुटनैतिक पहलपछि चीन सरकारसँगको समन्वय र सहयोगमा तातोपानी नाकाहुँदै नेपाल ल्याइने छ ।

अलपत्र नेपाली नागरिकहरुमध्ये कतिपयसँग नेपाल जाने भाडा र खाना खर्च समेत नभएको जानकारी दिँदै उनले चीनको सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयसँगको निरन्तर समन्वय र चीन सरकारका सम्बन्धित निकायहरु सहयोगमा उनीहरुलाई तातोपानी सीमा नाकासम्म पुर्याइने जानकारी दिए । तातोपानीमा नेपाली अधिकारीहरुलाई उनीहरुको जिम्मा लगाइने छ ।

महावाणिज्यदूत निरौलाले बाढी पीडित नेपाली नागरिकहरुलाई तत्काल उद्धार गरी सुरक्षित बसोबासको व्यवस्था मिलाउनुका साथै सीमा नाकासम्म लैजाने व्यवस्था मिलाएकोमा चीन सरकारलाई धन्यवाद दिए । त्यसका लागि निरन्तरको पहल र प्रयासका लागि नेपाली महावाणिज्यदूतावासलाई निर्देशन र सहजीकरण गर्ने नेपाली अधिकारीहरुलाई उनले धन्यवाद दिए