भीआईपी क्षेत्रमा पानीको हाहाकार

४ वडाका करिब ७५ हजार जनसंख्याले पाएनन् खानेपानी

50.29k
Shares

काकाकुल स्थानीय, सरकार मौन
१५ दिनमा पनि बनेन पाइप
केयूकेएल प्रमुख भन्नुहन्छ :  काम गर्दागर्दै समस्या देखियो
चार वडा अध्यक्ष भन्छन् :  दर्जनौंपटक गुहार्दा पनि समस्या जस्ताको तस्तै 

कुन वडामा कति प्रभावित

वडा १८– २५ हजार
वडा–२१ –१२ हजार
वडा २२– १३ हजार
वडा २५ –२५ हजार

काठमाडौं ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड ललितपुर शाखाको कारण करिब ७५ हजार जनसंख्या काकाकुल भएका छन् । चक्रपथपारिका चारवटा वडामा करिब दुई सातादेखि खानेपानी आपूर्ति हुन सकेको छैन ।गत वर्ष असोज १० देखि तीन दिनसम्म आएको अबिरल वर्षाका कारण बगाएको पाइप मर्मत हुन नसक्दा खानेपानीको हाहाकार मच्चिएको हो । पटक पटक ठेक्का हुँदा पनि निर्माण हुन नसकेपछि जेनतेन पानीको व्यवस्था भइरहेको थियो ।

अहिले पाइप मर्मत हुन नसक्दा र सानो पाइपबाट समेत पानी ल्याउन नसक्दा ललितपुर महानगरका १८, २१, २२ र २५ का वडावासी खानेपानीबाट बञ्चित बन्न पुगेका छन् । १८ वडाका वडाअध्यक्ष दामोदर खड्काले पटकपटक आग्रह गर्दा पनि ढिलासुस्तीको कारण समस्या जटिल भएको आरोप लगाउनुभयो । उहाँले केयूकेएल ललितपुर शाखामा धेरै पटक आग्रह गर्दा पनि काम हुँदैछ भनेर टार्ने गरेको र पछिल्लो समय पाइप मर्मतको कारण देखाउँदै १५ दिनयता पानी नदिएको बताउनुभयो ।

केयूकेएल ललितपुर शाखा प्रमुख लिला भट्टले आइतबारदेखि भँैसेपाटीस्थित केयूकेएलको पानी पोखरीमा पानी ल्याउने तयारी गरिएकोमा पाइप फुटेर समस्या आएको बताउनुभयो । उहाँले वागमती पुलबाट ९० इन्चको पाइपमा पानीको फोर्स बढी भएर चुहावट भएपछि फेरि समस्या देखिएको जानकारी दिँदै भन्नुभयो– ‘अझै दुईचार दिन पानी आउने सम्भावना छैन । निरन्तर काम गर्दा पनि पाइप जडानमा समस्या भएर पानी खुवाउन सकिएको छैन ।’

यतिका धेरै दिनसम्म चारवटा वडाका जनतालाई पानी खुवाउन नसकेको केयूकेएलले कसरी पानीको व्यवस्थापन गर्छ भन्ने विषयमा वडाकार्यालय प्रश्न उठाएको छ । ‘सायद हामी र यस भेगका जनता सोझा भएर होला, करिब १५ दिनसम्म पानी खान नपाउँदा समेत चुप लागेर बसेका छांै’–ललितपुर महानगरपालिका–२५ का वडा अध्यक्ष दौलत खत्रीले भन्नुभयो– ‘कहिले ठेक्काको कारण त कहिले मुद्दा मामिलाको कारण देखाउँदै जनतालाई पानी खुवाउन नसक्नु केयूकेएलको गम्भीर गल्ती हो ।’

पटकपटक केन्द्रमा गएर जानकारी गराएका छौं, ललितपुरमा त दर्जनौं पटक आग्रह गरिसक्यांै तैपनि समस्या समाधान हुन सकेको छैन । यद्यपि, केयूकेएल ललितपुर प्रमुख भट्टले ट्याङकरमा पानी बाँडेर भए पनि व्यवस्थापन गरेको दाबी गर्दै भन्नुभयो– ‘घरघरमा पानी पु¥याउन सक्दैनांै, ट्याङकीमा हालेर वितरण गर्ने गरिरहेका छौं ।’

तर उहाँले भनेजस्तो पानी वितरण नभएको ललितपुर महानगरपालिका–२२ का अध्यक्ष सागर तुलाधरले बताउनुभयो । दुईसातादेखि पानीको चरम समस्या भएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘म र २१ का अध्यक्ष रविन्द्र महर्जन दैनिकजसो पाइप फुटेको स्थानमा गएर ठेकेदारसँग कुराकानी गरिरहेका छौं, कामदारसँग सँगै बसेर काम गरिरहेका छौं, तैपनि समस्या समाधान हुन सकेको छैन ।’

ललितपुर–२१ का अध्यक्ष रविन्द्र महर्जन त दुई सातादेखि फिल्डमा खटिरहनुभएको छ । वडावासीलाई पानी खुवाउन दैनिक प्रयास गरिरहेको तर पानी आउन नसकेको जिकिर गर्दै उहाँले भन्नुभयो–‘व्यक्तिको जग्गामा समस्या देखिएको थियो । हामीले समस्या समाधान गरेका छौं । तर, सरकारी ढिला सुस्तीका कारण समस्या बढेको छ । स्थायी समाधानको लागि छलफल गरिरहेका छांै ।’ उहाँले चारवडा वडाको समन्वयमा खानेपानीको पाइप निर्माण गर्न निरन्तर छलफल जारी रहेको बताउनुभयो । उहाँका अनुसार भंैसेपाटी पोखरीको पानी ललितपुर महानगरका चार वडाबाहेक १३, १४, ३ र ४ वडामा समेत वितरण हुने गरेको छ ।

ठूलो पाइप जडान गर्ने सक्षम कामदार नभएका कारण एउटा पाइप जोड्न करिब दुई साताभन्दा बढी लागेको छ । केयूकेएल ललितपुर प्रमुख भट्टले अब केही दिनमा समस्या समाधान हुने ठोकुवा गर्नुभयो । ललितपुरको यी चारवटा वडामा मेलम्ची वा अन्य कुनै स्रोतबाट पानी आउँदैन । फर्पिङ पोखरी र केही सानो खोलाको भर पर्नुपरेको स्थानीयले पानी खान नपाएपछि वडा कार्यालयहरूमा घेराउ गरेका छन् ।

सबै वडाअध्यक्षले दैनिक पहल जारी रहेको बताएका छन् । ललितपुर–१८ का अध्यक्ष खड्काले सबै निकायमा गएर पानीको समस्या सुनाउँदासमेत सुनुवाई नभएको आरोप लगाउँदै भन्नुभयो–‘सबैलाई पानी नआएको जानकारी छ, तैपनि सरकारले वास्ता गरेको छैन ।’ ललितपुरको भैँसेपाटी, सैंबु, खोकना, बुंगमती, चुनिखेललगायतका क्षेत्रका स्थानीयले पानी खान नपाएपछि वडा कार्यालय गुहारेका छन् ।

केयूकेएल ललितपुरका अनुसार ४ वटा वडामा करिब ७ हजार धारा जडान भएका छन् । तथ्याङ्कअनुसार ललितपुर १८ मा १७ हजार, २१ मा करिब १० हजार, २२ मा १० हजार र २५ वडामा करिब २५ हजार जनसंख्याले दुई सातादेखि खानेपानी पाएका छैनन् ।
हुन त भँैसेपाटीबाट ललितपुरभर पानी वितरण गरिन्छ । चक्रपथभित्र मेलम्चीको पानी ल्याइएपछि ४ वडाबाहेक अन्यलाई राहत भएको छ । तर, चक्रपथबाहिरका जनता भने खानेपानीबाट वञ्चित छन् ।