गुनासोपछि कम्पनी रजिष्ट्रार कार्यालयमा ठूलो सरुवा

कम्प्युटर प्रणालीमा लापरबाही ,अनलाइन सेवा ढिलाइ


काठमाडौँ ।

सेवाग्राहीको काम समयमा नगरेको र अनलाइन प्रणालीमा प्रविष्ट फाइलसमेत सदर नगरेको गुनासो आएपछि कम्पनी रजिष्ट्रार कार्यालयका ३१ कर्मचारीलाई सरुवा गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार कम्प्युटर निर्देशक, शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीलाई अन्य निकायमा खटाएको हो।

मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनअनुसार गठन भएको कार्यदलको प्रतिवेदनका आधारमा यो निर्णय गरिएको हो। कम्पनी सेवामा सुधार ल्याउन स्थलगत अनुगमनपछि गरिएको सरुवाले अनलाइन सेवा चुस्त र पारदर्शी बनाउने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ।