“पोप्पो लाइभ: लाइभ स्ट्रिमिङको नाममा हजारौं नेपाली लुटिने जुवा एप”

2.54k
Shares

काठमाडौं ।

इन्टरनेटमा ‘लाइभ स्ट्रिमिङ’ को आवरणमा चलेको ‘पोप्पो लाइभ’ एपले हजारौं नेपालीलाई ठगिरहेको खुलासा भएको छ। यो एपले विशेषगरी महिलाहरुलाई लक्षित गर्दै उनीहरूलाई विभिन्न लोभ देखाएर लाखौं रुपैयाँ लुटिरहेको पीडितहरूको गुनासो छ।

सुरुमा रमाइलोको लागि एप चलाउने प्रयोगकर्ताहरू पछि झन् गहिरो कुलतमा फस्दै जान्छन्। क्वाइन किन्न लगाएर लाइभ गिफ्ट पठाउने, अनि पछि जुवा जस्तो स्पिन गेममा सहभागी गराउने यो एपले प्रयोगकर्ताको बैंक खाता रित्तिने गरी लत लगाउँछ।

पुरुषलाई लाइभ होस्ट हुन चार लेभल पास गर्नुपर्ने भए पनि महिलाहरू सिधै लाइभ जान सक्छन्, जसले महिलालाई सजिलै टार्गेट बनाउने बाटो खोलिदिएको छ। कयौँ पीडितले परिवार नै गुमाउने डरले मुख खोल्न सकेका छैनन्।

यो एप न त आधिकारिक रूपमा कहाँबाट सञ्चालन भएको खुलेको छ, न त प्रयोगकर्ताले उजुरी गर्ने ठेगाना छ। नेपालमा सीमित एजेन्टमार्फत मात्र यसको डिजिटल क्वाइन बिक्री हुने गरेको र ठूलो कारोबार डिजिटल वालेटमार्फत हुने गरेको छ।

लाइभ स्ट्रिमिङको नाममा लुकाइएको यो जुवाको अड्डा तत्काल नियमन नगर्ने हो भने अझ धेरै नेपालीहरू आर्थिक र मानसिक पीडामा पर्ने निश्चित छ।