पोखरा ।
२०८० साल पुस–माघताका पोखरा महानगरपालिकाले व्यक्तिको जग्गा संरक्षण गराउनकै लागि खोलाको मापदण्ड नै मिचेर पर्खाल लगाइदियो । पोखरा महानगरपालिका १३ काहुँखोलामा काहुँखोला नै मिचेर महानगरपालिकाको बजेटमा रिटेनिङ वाल (बाँध) लगाउने काम भयो । स्थानीयले नेताको जग्गा जोगाउन महानगरपालिका र वडाकै मिलेमतोमा पर्खाल लगाएको भन्दै विरोधसमेत गरे तर, महानगरले कसैको कुरा टेरेन ।
उल्टै पोखरा महानगरपालिका–१३ का वडाअध्यक्ष किरण बरालले त बाढीबाट बचाउन नै योजना कार्यान्वयनमा ल्याइएको बताउनुभएको थियो । स्थानीयको विरोधपश्चात् पनि अघि बढेको कामले सार्थकता पायो र नेताहरूको जित भयो । महानगरपालिकाले नै बजेट दिएर खोला मिचेर बनाएको रिटेनिङ वालकै कारण शनिवार रातिबाट परेको भारी वर्षाका कारण आइतबार बिहान बाढीले उक्त स्थानमा विध्वंस मच्यायो । मानवीय क्षति नभए पनि दुई कोठा बाढीले बगाएको छ भने करिब ९–१० घर डुबानमै परे । जहाँ महानगरको बजेटमा बाँध बनेको थियो त्यहीँ रहेको पुरानो पर्खाल भत्कँदा डुबानमा परेको हो ।
महानगरपालिकाले बनाइदिएको रिटेनिङ वालले कांग्रेस नेता दीपक गुरुङ (माइला) र उनकी फुपू तिलकुमारी गुरुङको परिवारको जग्गा जोगाएको छ । गुरुङको परिवारले पोखरा–१३ शुभकामना र काहुँखोला टोलको बीचमा पर्ने करिब ८ रोपनी क्षेत्रफलमा पर्ने जग्गा सम्याउने र बाटो पु¥याउने काम गरेका थिए । स्थानीयका अनुसार व्यक्तिगत जमिन जोगाउने र घडेरी बनाउने प्रयोजनका लागि गुरुङले खोलाकै जमिन अतिक्रमण गरेर पर्खाल लगाउने काम गरेका थिए ।
पर्खाल उठाएर सम्याउने र त्यो भागलाई त्यत्तिकै छोडेर आफ्नो नामको जमिन प्लटिङ गरेर बिक्री गर्ने योजनामा दीपक र उनका आफन्ती परिवार देखिएका थिए । पर्खाल नलगाउँदा खोला छेउको जमिन बर्खाको भेलले काट्ने र जमिनको भाउ घट्ने भएपछि दीपकले सरकारी बजेट नै पारेर आफ्नो जमिन जोगाउन काम गरेका हुन् । खोलाबाट झिकिएको गेग्य्रान उनीहरूकै जग्गामा थुपारिएको छ ।
पर्खाल लगाएभन्दा २० मिटरजति माथिबाट काहुँखोला विभाजित भएको छ । त्यही खोलाको एउटा भाग पूर्वतिर र अर्को भाग दक्षिणतिर बग्छ । त्यही दोभानमा कांग्रेस नेता दीपकको जग्गा पर्छ । खोलाका कारण जग्गा मासिने डर भएकाले दीपककै योजनाअनुसार त्यहाँ महानगरपालिकाले ३० लाख रुपियाँ पर्खालका लागि विनियोजन गरेको हो ।
आर्थिक वर्ष २०८०|८१ को बजेटको पूर्वाधारतर्फ ‘सिद्धकोथान काहुँखोला हुँदै खोला संरक्षण’ शीर्षकमा ३० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । २०७९ कार्तिक १२ मा उपभोक्ता समितिले वडा कार्यालयसँग योजना कार्यान्वयनका लागि सम्झौता गरेको थियो । त्यसको ३ दिनपछि कार्तिक १५ गतेदेखि काम शुरू भएको थियो । उक्त काममा दीपक माइलाका कान्छा भाइ रोशन नै उपभोक्ता समितिका अध्यक्ष भएर काम गरे । उनले त्यहाँका कुनै पनि स्थानीयसँग समन्वयन नै नगरी आफ्नै नातेदारहरूलाई समितिमा राखेर काम गराएका थिए ।











प्रतिक्रिया