वीरगञ्ज ।
मधेस प्रदेशको सरकारको नेतृत्व परिवर्तनको सम्भावना बढेको छ । मधेस प्रदेश सरकारबाट नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन फिर्ता लिने तयारी गरेपछि सरकारको नेतृत्व परिवर्तनको सम्भावना देखिएको हो ।
जनमत पार्टीका सतिशकुमार सिंह नेतृत्वको मधेस सरकारको एक वर्ष पूरा भएको छ । अब त्यहाँ सरकारको नेतृत्व कांग्रेसले गर्ने भएको छ । तर, जनमत पार्टीले सरकार नछोड्ने देखिएपछि कांग्रेस र एमाले दुवैले समर्थन फिर्ता लिने तयारी गरेका हुन् । कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले भने समर्थन फिर्ता लिने परिस्थिति अहिले बनिनसकेको बताउनुभयो ।
जनमत पार्टीले आफैं सरकार छाडेर अर्को दललाई नेतृत्व सुम्पनु उपयुक्त हुने भन्दै उहाँले यदि त्यस्तो भएन भन्नेमात्र अरू स्टेपमा जाने जानकारी दिनुभयो । उहाँले भन्नुुभयो– ‘जनमत पार्टीको एक वर्षको कार्यकाल पूरा भएको छ । उसले आफै छोड्नुपर्ने हो । यस विषयमा कुराकानी पनि भइराखेको छ । हेरौँ के हुन्छ ।’
कांग्रेस र एमालेका मधेस प्रदेशका नेताहरू अहिले काठमाडौं आएका छन् । उनीहरू शीर्ष तहमा कुराकानी गरिरहेका छन् । यता, जनमत पार्टी भने सरकार छाड्ने पक्षमा देखिएको छैन । सो पार्टीका संसदीय दलका नेता महेश यादवले तत्काल सरकार छाड्ने सम्भावना नरहेको र कांग्रेस, एमालेले हल्ला मात्र गरेको बताउनुभयो ।
सरकारको कार्यकाल कति रहने भन्नेबारे गठबन्धनमा कुनै छलफल नभएको भन्दै उहाँले कांग्रेस–एमालेका नेताहरूले आफूखुसी कुरा गरेर सरकारलाई अप्ठ्यारोमा पार्न खोजिरहेको गुनासा गर्नुभयो । उहाँले भन्नुभयो– ‘यदि त्यस्तो कुनै सम्झौता भएको भए हामीलाई पनि थाहा हुन्थ्यो । तर, कांग्रेसलाई मात्रै यो सम्झौताको बारेमा थाहा छ । हामीलाई किन थाहा छैन ? यदि, त्यस्तो सहमति भएको छ भने त माथिबाट पनि कुरा आउनुप¥यो ।’











प्रतिक्रिया