ललितपुरमा आधुनिक नगरको जग बसाल्नेदेखि लिएर ‘ब्रान्डिङ’ गर्ने ‘टावरिङ पर्सनालिटी’
ललितपुर ।
ललितपुरको विकास र सांस्कृतिक धरोहरका रूपमा चिनिएका बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन भएको छ । छाती दुख्न थालेपछि गत बिहीबार राति शिक्षण अस्पताल लगिएको बज्राचार्यको शुक्रवार दिउँसो १२ः३० बजे निधन भएको थियो । बज्राचार्यका कान्छा छोरा राकेशराज बज्राचार्य अमेरिकाबाट शनिवार बेलुका नेपाल आईपुगेपछि मात्र उहाँको निधन भएको सूचना सार्वजनिक गरिएको थियो ।
आइतबार नख्खुस्थित वैष्णवी मन्दिर परिसरको घाटमा उहाँको पार्थिव शरीरको दाहसंस्कार गरिएको थियो । यसअघि बज्रचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलिको लागि अक्षयेश्वर महाविहारमा राखिएको थियो । शवयात्रामा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सांस्कृतिककर्मीहरूको उपस्थिति रहेको थियो । जेठो छोरा वीरराज बज्राचार्यले उहाँको पार्थिव शरीरमा दागबत्ती दिनुभएको थियो ।
बज्राचार्यप्रति श्रद्धाञ्जलि अपर्ण गर्र्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डले बज्राचार्यको अथक प्रयासले आज ललितपुरका पुरातत्व र धार्मिक स्थलहरू आफ्नो पहिचान बनाउन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बज्राचार्यको योगदान र उहाँले ललितपुर नगरका लागि गरेको कामहरू सधैं सम्झिरहने छन् । यसले ललितपुरको सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षणमा दीर्घकालिक प्रभाव प्रभाव पार्ने छ ।’
आफ्नो जीवनको पाँच दशकभन्दा बढी समय ललितपुर नगरको सेवा र समर्पणमा अर्पण गरेका बज्राचार्यको निधनले नगरको समग्र विकासको एउटा ऐतिहासिक अध्यायको अन्त्य भएको बताइएको छ । १९९३ साल श्रावण २७ गते ललितपुरको यशोधर महाविहार बुबहालमा जन्मिएका बज्राचार्य आफ्नो जीवनकालमा वडाअध्यक्षदेखि ललितपुर नगरको पाँच पटक प्रमुख हुँदै संस्कृतिमन्त्रीसम्म हुनुभएको थियो ।
२०२७ साल फागुण १५ गते भएको स्थानीय चुनावमा उहाँ तत्कालीन ललितपुर – १७ को वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसपछि २०३२ साल, २०३९ र २०४३ सालमा भएको तीनवटै नगरपञ्चायतको चुनावमा उहाँ तत्कालीन ललितपुर नगरपञ्चायतको प्रधानपञ्चमा विजयी हुनुभएको थियो ।
त्यसै गरी २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचन र २०५९ साल फागुणमा मनोनीत गरी उहाँ दुई पटक ललितपुरको मेयर हुनुभएको थियो । २०६१ साल माघ १९ पछिको राजाको प्रत्यक्ष शासनकालमा उहाँ ११ महिना संस्कृतिमन्त्री हुनुभएको थियो ।
समुदायमा भिजेर सामाजिक हितका कार्य गर्दै जाने क्रममा बज्राचार्यले स्थानीयदेखि राष्ट्रियस्तरसम्म संस्कृति संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्नुभएको जिकिर गर्दै प्राडा बज्रराज शाक्यले भन्नुभयो– ‘त्यो अवधिमा उहाँले अहिलेको ललितपुर महानगरपालिकाको जग बसाल्नेदेखि लिएर कला, संस्कृति, मठमन्दिर, ऐतिहासिक र पुरात्तात्विक महत्वका विहार, महाविहार, पाटी, पौवा, देवालय, शिवालय र ढुंगेधारा संरक्षणमा उल्लेखनीय योगदान पु¥याउनुभएको थियो । यही योगदानले नै कला, संस्कृतिप्रति समर्पित व्यक्तित्वको रूपमा उहाँको मुख्य पहिचान बनेको हो ।’
संस्कृति, सम्पदाप्रतिको गहिरो लगाव र समर्पणले निर्मित उहाँको व्यक्तित्वले गर्दा नै २०४२ सालमा राष्ट्रिय पञ्चायतको चुनावमा लडेको, २०५९ सालमा तत्कालीन राजपरिषद् स्थायी समितिको सदस्य भएको र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्री बनेको बेलाको आलोचना क्षणिकमात्र बन्न पुगेको राजनीतिककर्मी सुरेन (सुरेन्द्रमान शाक्य) बताउनुहुन्छ । बज्राचार्यलाई सामाजिक तथा सांस्कृतिक व्यक्तित्वका रूपमा बुझ्नु उपयुक्त हुने पनि उहाँको भनाइ रहेको छ ।
२०३७ सालमा जनमत संग्रहताका स्वर्गीय बीपी कोइरालाको भाषण सुनेर प्रजातान्त्रिक समाजवादी धाराप्रति आकर्षित हुनुभएका राजनीतिकर्मी भरतलाल न्याछ्योंको धारणाअनुसार बज्राचार्यको निधनले ललितपुरले एउटा धरोहर नै गुमाएको छ । राजधानीसँग जोडिएको यस ललितपुरको अलग पहिचान बनाउन बज्राचार्यको अग्रणी भूमिका रहेको स्मरण गर्दै उहाँले भन्नुभयो – ‘बज्राचार्य आधुनिक नगरको जग बसाल्नेदेखि लिएर समग्र ललितपुरको ब्रान्डिङ गर्ने टावर पर्सनालिटी हुनुहुन्थ्यो ।’
२०५४ सालमा वडाअध्यक्ष हुँदा बज्राचार्यसँगै काम गरेका ललितपुर महानगरपालिका– ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले भन्नुभयो– ‘मेयर भएर काम गर्ने क्रममा उहाँ मिलनसार र सामाजिक हितप्रति प्रतिबद्धताका रूपमा काम गर्नुहुन्थ्यो । समन्वय गर्ने, सल्लाह गरेर काम गर्ने उहाँको बानी थियो ।’ नगरपालिका सञ्चालनको लागि स्रोतको सुनिश्चित गर्नेसँगै त्यतिबेला जेनतेन सञ्चालन हुँदै आएको धार्मिक र सांस्कृतिक महत्वको कार्तिक नाच, अष्टमातृका नाच सञ्चालन, जीर्ण भएको अक्षयेश्वर महाविहारको पुनःनिर्माण, अहिलेको ललितपुर महानगरपालिकाको भवन निर्माणमा बज्राचार्यको महत्वपूर्ण भूमिका रहेको पाइएको छ ।











प्रतिक्रिया