एमालेको भविष्य र नेतृत्वबारे गम्भीर मन्थन

2.63k
Shares



काठमाडौं ।

नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आगमनसँगै तरंग पैदा भइरहेका बेला आइतबार भण्डारी र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच पार्टी मुख्यालय च्यासलमा झन्डै एक घण्टासम्म एक्लाएक्लै भेटवार्ता भएको छ ।
दुई नेताबीच एमालेको आगामी महाधिवेशन, भण्डारीको भूमिकाबारे स्पष्ट परिपाटी निर्माण र पार्टीभित्र भइरहेका विभिन्न विवाद र घोचपेच बारेमा खुला कुराकानी भएको बताइएको छ । भेटमा ओलीले भण्डारीप्रति पार्टीभित्र देखिएको असहजता कम गर्ने प्रयासस्वरूप सहयोग गर्न आग्रह गर्नुभएको थियो । भण्डारीले पनि आफूलाई किनारा लगाउने प्रयासबारे अध्यक्ष ओलीलाई सीधा रूपमा अवगत गराएको स्रोतको दाबी छ ।

‘म पार्टीमा योगदान दिन चाहन्छु, तर मेरा नाममा फैलाइएका हल्लाले राजनीतिको मर्यादामै आँच आइरहेको छ’ –भण्डारीले ओलीसँग भनेको स्रोतको दाबी छ । यसपटकको भेटमा भण्डारीले पार्टीभित्र आफ्नो भूमिकालाई अझ स्पष्ट बनाउन आग्रह गर्नुभएको छ भने ओलीले पार्टीभित्रको अनुशासन र एकता कायम राख्न सबै नेताहरूलाई आग्रह गर्ने बताउनुभएको थियो ।
भण्डारीको पार्टी सदस्यता नवीकरण भएको वा नभएको भन्ने बहसले केही दिनयता एमालेभित्र हलचल मच्चाएको थियो ।

खासगरी भण्डारीको सक्रियता देखेपछि असहज बनेका केही नेताहरूले ‘उहाँको सदस्यता नवीकरण नै छैन’ भन्ने प्रचार अभियान चलाइरहेका थिए । तर, एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्पष्ट रूपमा दुई वर्षअघि नै भण्डारीको सदस्यता नवीकरण भइसकेको जनाएपछि ती हल्ला निराधार सावित भएका छन् । ‘उहाँको सदस्यता नवीकरण दुई वर्षअघि नै भएको हो,’ उपाध्यक्ष पाण्डेले भन्नुभयो– ‘यसमा अब दोधार रहने ठाउँ छैन ।’

पार्टी कार्यालयबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीको भिड लागेपछि भण्डारीले छोटो प्रतिक्रिया दिँदै भन्नुभयो– ‘सदस्यता नवीकरण भइसकेको छ, म त्योबारे केही भन्न चाहन्नँ । अध्यक्षसँग राष्ट्रिय राजनीतिका समग्र विषयमा कुराकानी भयो ।’
पूर्वराष्ट्रपति भण्डारीको पछिल्लो सक्रियताले अबको महाधिवेशनमा उहाँ पार्टी नेतृत्वतर्फ अघि बढ्ने संकेत गरेको भन्दै पार्टीभित्र विभिन्न टिप्पणी हुन थालेका छन् । ओलीले पछिल्लो समय पार्टीभित्रको अन्तरसंघर्षलाई न्यून गर्न कठोर अनुशासनको नीति अख्तियार गर्नुभएको छ ।

आइतबार साँझ नै भण्डारीले आफ्ना निकटस्थ नेताहरूलाई निजी निवासमा बोलाएर आगामी रणनीति र भूमिकाबारे विस्तृत छलफल गर्नुभएको छ । भण्डारीको यो छलफललाई पार्टी नेतृत्वको आकांक्षासँग जोडेर हेरिएको छ । एक निकट नेताका अनुसार उहाँले पार्टीको भावी बाटोको चिन्तन गरिरहनुभएको छ । तर, नेतृत्वको आकांक्षा उहाँले प्रत्यक्ष रूपमा अहिलेसम्म प्रकट गर्नुभएको छैन ।

ओली–भण्डारी भेटपछि एमालेभित्र दुई धार स्पष्ट हुँदै गएको संकेत देखिएको छ । एकातिर भण्डारीको सक्रियतालाई स्वागत गर्ने र ओलीपछि उत्तराधिकारी मान्ने समूह उभिन थालेको छ भने अर्कातिर उहाँलाई निष्क्रिय बनाउने प्रयास गरिरहेका नेताहरूको गुटसमेत सक्रिय भएको छ ।

पूर्वराष्ट्रपति भण्डारीसँग सम्बद्ध नेताहरूले पार्टीभित्रको अनुशासन र आन्तरिक लोकतन्त्रका विषयमा गम्भीर छलफल गर्नुपर्ने अवस्था आएको बताइरहेका छन् । एक नेताका अनुसार यो भेटले भण्डारीको हैसियत पुनः स्थापित भएको छ । अब उहाँलाई बेवास्ता गर्ने अवस्था छैन ।

आइतबारको ओली–भण्डारी भेटलाई एमालेभित्रको भावी नेतृत्व, अनुशासन र संरचनागत पुनः संयोजनको दृष्टिकोणले हेर्न थालिएको छ । भेटलाई केवल शिष्टाचारका रूपमा मात्र होइन, पार्टीभित्रको आगामी समीकरण निर्माणको संकेतस्वरूप राजनीतिक विश्लेषकहरूले लिएका छन् ।पूर्वराष्ट्रपति भण्डारी अब एमालेको नियमित राजनीतिमा सशक्त ढंगले प्रस्तुत हुने तयारीमा देखिएको स्रोतले जानकारी दिएको छ ।