सरोकार केन्द्रको आयोजनामा घरेलु हिंसा र वैदेशिक रोजगारी सम्बन्धी ठगीविरुद्ध अन्तक्रिया


काठमाडौँ। 

सरोकार केन्द्रद्वारा साँखुस्थित देवी फोरेष्ट रिजोर्टमा शनिवार आयोजित एक परिचयात्मक अन्तर्क्रिया कार्यक्रममा खेलाडी तथा समाजसेवी ज्ञानेन्द्र गुरुङलाई सम्मान प्रदान गरेको छ । उहाँले खाडी क्षेत्रमा अलपत्र परेका करिब ६ हजार नेपाली युवाहरुलाई विभिन्न समयमा उध्दार गर्नुभएकोमा त्यसको कदर गर्दै पूर्व प्रहरी महानिरीषक सर्वेन्द्र खनाल तथा केन्द्रका अध्यक्ष गोविन्द पन्थीले प्रमाणपत्र तथा दोसल्ला ओढाएर गुरुङको सम्मान गरेका हुन् ।

सो संस्थाले घरेलु हिंसा, वैदेशिक रोजगारी, लागूपदार्थ दुर्व्यसन तथा वातावरण संरक्षण जस्ता विविध विषयमा जनचेतना जगाउने कार्यहरु गरिआएको संस्थाका अध्यक्ष पन्थीले जानकारी गराए। सो अवसरमा साइवर अपराध, वैदेशिक रोजगारी सम्बन्धी ठगी, घरेलु हिंसा, लागूऔषधिी दूव्र्यसनी तथा वातावरण संरक्षण सम्बन्धी विविध विषयमा अन्तर्क्रियाको आयोजना पनि गरिएको थियो ।

सो अन्तरक्रिया कार्यक्रममा बोल्दै शंखरापुर नगरपालिकाका उपमेयर समीता श्रेष्ठले घरेलु हिंसाका सम्बन्धमा पीडितले चुप लागेर नबसी आफ्नो गुनासाहरु सम्बन्धित ठाउंम पुर्यायन सकेमा त्यस्ता घटना नियन्त्रणमा सहयोग पुग्ने विचार व्यक्त गरेकी छन् । सो अवसरमा वक्ताहरुले साँखुको प्राकृतिक वातावरण, हावापानी, तथा संस्कृतिको महत्त्वमाथि प्रकाश पार्दै यहाँका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको उचित संरक्षण गर्न सके त्यसबाट भावी पुस्ता समेत लाभान्वित हुने विचार व्यक्त गरेका छन् ।

यसअघि सो केन्द्रको आयोजनामा करिब ५० जना सहभागी रहेको एक समूहले सामाजिक सद्भाव कायम गरौं, घरेलु हिंसा अन्त्य गरौं, वातावरण संरक्षण गरौ आदि नारासहित प्रभात फेरी कार्यक्रम अन्तर्गत साँखु नगरको परिक्रमा गरेको थियो ।