काठमाडौँ।
काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि सञ्चालित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
महानगरपालिकाको शिक्षा विभागका अनुसार शनिबार ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालित परीक्षामा १४,१७३ विद्यार्थी सहभागी भएका थिए।
जसमध्ये १०,८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण हुन न्यूनतम ४० अङ्क (४०%) आवश्यक थियो। ४० अङ्क नकटाउने विद्यार्थीहरूलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ ।
सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले शिक्षा विभागले ‘चौबीस घन्टामै नतिजा प्रकाशन’ गरेर उदाहरणीय काम गरेको बताएका छन् ।
देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी परीक्षाका लागि छनोट भएका थिए । तीमध्ये १४,१७३ जनाले परीक्षामा भाग लिएका थिए ।
नतिजा OMR (Optical Mark Recognition) प्रणालीमार्फत जाँच गरिएको छ। यो प्रणालीले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गरेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीले जनाउनु भएको छ ।
नतिजा महानगरपालिकाको आधिकारिक वेबसाइट तथा
entrance.kathmandu.gov.np मा प्रकाशित गरिएको छ। विद्यार्थीहरूले आफ्नो SEE को सिम्बोल नम्बर, जन्म मिति र इमेल वा SMS मार्फत प्राप्त पासवर्ड प्रयोग गरी आफ्नो स्कोर कार्ड हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन्।











प्रतिक्रिया