“ओली आलोचक तर्साउन फाइलको हतियार प्रयोग गर्छन् : वर्षमान पुन”


काठमाडौं ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आलोचकलाई फाइल देखाएर तर्साउने आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले ओलीले विपक्षी वा असहमत व्यक्तिमाथि दबाब सिर्जना गर्न पुराना मुद्दा वा फाइल प्रयोग गर्ने पुरानै प्रवृत्ति अझै जारी राखेको बताए।

उनका अनुसार, कांग्रेस पार्टीभित्र नेतृत्व परिवर्तनको चर्चा चल्नासाथ ओलीले परराष्ट्रमन्त्री आरजु राणा देउवा र उनका छोरा जयवीर देउवालाई लक्षित गर्दै दबाब सिर्जना गरेका छन्।

पुनले ओलीलाई चरम दक्षिणपन्थी भन्दै नेकपा कालमा रामबहादुर थापा ‘बादल’का छोराको फाइल देखाएर उनलाई एमालेमा भित्र्याएको पनि खुलासा गरे। साथै, रमेश लेखक र मोहनबहादुर बस्नेतलाई प्रयोग गरेर कांग्रेस सभापति शेरबहादुर देउवामाथि पनि दबाब दिइएको आरोप लगाए।