काठमाडौं ।
सरकारको स्वास्थ्य बीमा कार्यक्रमले १० वर्ष पुगिसक्दा पनि प्रभावकारी सेवा दिन नसक्दा सिन्धुलीका पाँच प्रमुख स्वास्थ्य संस्थामा उपचार सेवा ठप्प हुने जोखिम बढेको छ।
स्वास्थ्य बीमा बोर्डले सिन्धुली जिल्लामा ११ करोड ३२ लाख रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी राखेकाले औषधि र स्वास्थ्य सामग्री अभावमा सेवा अवरुद्ध हुने अवस्था आएको हो।
सबैभन्दा बढी भुक्तानी लिन बाँकी रहेको सिन्धुली अस्पतालले मात्रै ६ करोड ५० लाख रुपैयाँ माग गर्दै आएको छ। दुधौली, लाम्पान्टार, बेलघारी र कपिलाकोटका संस्थाहरूले समेत करोडौं रुपैयाँ बोर्डबाट लिन बाँकी छ।
९० प्रतिशतभन्दा बढी बिरामी बीमाका हुने भए पनि बोर्डले भुक्तानी समयमा नगर्दा उपचार गर्न मुस्किल परेको अस्पताल प्रशासनले जनाएको छ। आर्थिक अभावले सप्लायर्सले औषधि उधारो दिन छोडेपछि सेवा थप संकटमा परेको हो।
सिन्धुलीमा हालसम्म ३० हजारभन्दा बढी परिवार बीमामा आबद्ध छन्, तर सेवाको गुणस्तर र सहजता नहुँदा बीमितहरू हैरान छन्। बीमितको विश्वास गुम्दै जाँदा वार्षिक नवीकरण घट्दो क्रममा छ।











प्रतिक्रिया