काठमाडौं।
इजरायलका राजदूत श्मुलिक आरि बास र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तबीच नेपाल–इजरायल कृषि इन्टर्नसिप कार्यक्रम पुनःसञ्चालनबारे छलफल भएको छ।
आज मन्त्रालयमा भएको भेटमा इजरायलमा नेपाली कृषि विद्यार्थीहरूको इन्टर्नसिप कार्यक्रम रोकिएपछि पुनःसञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।
इजरायली राजदूत बासले सन् २००१ देखि सञ्चालनमा रहेको इन्टर्नसिप कार्यक्रमबाट ४,००० भन्दा बढी नेपाली विद्यार्थीले इजरायलमा कृषि सिकेर फर्किएर नेपालको कृषि क्षेत्रमा योगदान दिएको जानकारी गराए। तर, २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि रोकिएको इन्टर्नसिप अझै पुनःसञ्चालन नभएको र प्रक्रिया ढिलाइ हुँदा करिब १,००० विद्यार्थीले अवसर गुमाउने जोखिम रहेको बताए।
छलफलमा शिक्षामन्त्री पन्तले इजरायलको सहयोगको कदर गर्दै इन्टर्नसिप पुनःसञ्चालनका लागि विश्वविद्यालयहरूलाई विद्यार्थी दर्ता प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिने प्रतिबद्धता व्यक्त गरे। शिक्षा सहसचिव शिवकुमार सापकोटा र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू पनि छलफलमा सहभागी थिए।
शिक्षा मन्त्रालयले इन्टर्नसिप जाने विद्यार्थीको इजरायल फिर्तीमा कुनै अवरोध नरहेको र आगामी वर्षका लागि कोटा बढाउने प्रस्ताव अघि सारिसकेको जनाएको छ। परराष्ट्र मन्त्रालयको रिपोर्ट अनुसार इजरायलको सुरक्षा अवस्था सामान्य रहेकोले इन्टर्नसिप प्रक्रिया निरन्तरता दिन सूचना जारी भइसकेको समेत मन्त्रालयले स्पष्ट पारेको छ।
विद्यार्थी दर्ता प्रक्रिया छिटो सम्पन्न गर्न, उनीहरूलाई जानकारी दिन र विश्वविद्यालयहरूसँग समन्वय गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ।











प्रतिक्रिया