काठमाडौं।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार अन्त्यका लागि अहिलेको खर्चिलो निर्वाचन प्रणाली नै बदल्नुपर्ने बताएका छन्।
शुक्रबार नेपाल मतदाता अधिकार मञ्चले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले आफ्नो पार्टीले खर्चिलो र अव्यवस्थित निर्वाचन प्रणालीका कारण भ्रष्टाचार मौलाइरहेको भन्दै निरन्तर यसको विरुद्धमा आवाज उठाइरहेको बताए।
अध्यक्ष दाहालले भने,“वर्तमान निर्वाचन प्रणाली र संविधानका केही प्रावधानले भ्रष्टाचार बढाएका छन्। खर्चिलो निर्वाचन र सांसद भएपछिमात्र मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण समस्या भएको हो। अब पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली आवश्यक छ।”
उनले जनसङ्ख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै, शासकीय प्रणाली परिवर्तनका लागि आन्दोलन आवश्यक पर्न सक्ने भन्दै जनतालाई तयारी अवस्थामा रहन आग्रह गरे।
“मञ्चको पहल सकारात्मक छ। तर नेताहरूलाई मात्रै ज्ञापनपत्र बुझाएर परिवर्तन हुँदैन, आवश्यक परे सडक संघर्षमा जान पनि हामी तयार छौं, तपाईंहरू पनि तयारी अवस्थामा रहनुहोस्।” उनले भने।
नेपाल मतदाता अधिकार मञ्चले बुझाइएको २१ बुँदे ज्ञापनपत्रमा निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्न माग गरिएको थियो।
ज्ञापनपत्रमा महिला, दलित र युवाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने, दलित महिलाका लागि आरक्षित सिटमा अन्य समुदायका महिलाले उम्मेदवारी नदिने प्रावधान हटाउने, जनसङ्ख्याका आधारमा ५० प्रतिशत महिलाको उम्मेदवारी सुनिश्चित गर्ने, र विदेशमा बस्ने नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउने मागहरू समावेश छन्।
मञ्चका अनुसार मतदाताको अधिकारका विषयमा सक्रिय २१ संघ–संस्थाले यसमा सहमति जनाएका छन्।











प्रतिक्रिया