डिभोर्सपछि पहिलोपटक बोले विष्णु सापकोटा-  मेरो मौनतालाई कमजोरी नठान्नु


काठमाडौँ। 

गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोटाले आफ्नो डिभोर्सपछि  पहिलोपटक मुख खोलेका छन् ।  पछिल्लो समय सामाजिक सञ्जालमा आफूलाई लिएर  भइरहेको  टिप्पणीहरुप्रति प्रतिक्रिया दिंदै सापकोटाले आफ्नो धारणा सार्वजनिक गरेका हुन्। 

सापकोटाले आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । आफ्नो चरित्रहत्याका विरुद्ध अस्ट्रेलियामा नै कानूनी प्रक्रिया अगाडि बढाइसकेको उनको भनाइ छ ।

सापकोटाले लेखेका छन्, ‘म स्पष्टरूपमा भन्न चाहन्छु – अहिले मेरो बारेमा भइरहेका अनावश्यक टिकटक भिडियोहरु र भ्रामक गतिविधिहरूले मेरो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुरÞ्याइरहेका छन् ।प्रतिशोध नभई, मेरो व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म– सम्मानको संरक्षणका लागि मेरो ब्यक्तिगत मानहानी तथा ब्याबसायिक नोक्सानिको क्षतिपुर्ति सहित मैले अस्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको छु । कानुन सबैका लागि समान हुन्छ र न्यायको सही मार्ग पनि त्यही हो ।’

उनले आफ्नो मौनतालाई कमजोरी ठान्नु वा दोष स्वीकारेको संकेत मान्नु पूर्णरुपमा अनुचित हुने बताएका छन् । ‘अहिले दुबैको आ–आफ्नै व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवन छ । कहिलेसम्म यस कुराको सिकार हुनुपर्ने हो हामी ?’, उनले प्रश्न गरेका छन् ।

गायिका एलिना चौहान र विष्णु सापकोटाको विवाह २०८० सालको सुरुवाततिर भएको थियो। तर, केही महिनामै उनीहरूको सम्बन्धविच्छेद भएको थियो।  

सम्बन्धविच्छेदपछि एलिना सार्वजनिक रूपमा सक्रिय रहेकी छन् भने विष्णु लामो समय मौन बसेका थिए। एलिनाले विवाह र त्यसअघि विष्णुबाट हिंसा भएको कुरा अहिले बोल्न थालेपछि उनले मुख खोलेका हुन्।