शिक्षक महासंघको सरकारलाई साउन २१ सम्म अल्टिमेटम, विधेयक पास नभए कडा आन्दोलनको चेतावनी


काठमाडौं।

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्न माग गर्दै सरकारलाई साउन २१ गतेसम्मको अल्टिमेटम दिएको छ। माग पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी महासंघले दिएको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले पटक–पटक गरेका सहमति कार्यान्वयन नगरी शिक्षक–कर्मचारीलाई फेरि धोका दिने संकेत देखिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भइरहेको विधेयक छिटो टुंग्याएर विगतका सहमति समेटिएको अग्रगामी विद्यालय शिक्षा विधेयक साउन २१ अघि प्रतिनिधि सभाबाट पारित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं।”

यदि साउन २१ भित्र विधेयक पारित नभए वा सहमति विपरीत अघि बढाइएमा महासंघले विगतभन्दा कडा र सशक्त आन्दोलन गर्ने स्पष्ट चेतावनी दिएको छ।

महासंघले आन्दोलनका कार्यक्रम यथासमयमा सार्वजनिक गर्ने जनाएको छ। साथै, सहमतिअनुसार विधेयक पारित नभएर आन्दोलन आरम्भ हुँदा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी राज्य पक्षको हुने पनि महासंघले स्पष्ट पारेको छ।